चीनले पठायो अर्को पत्र: तीन जना कुख्यात अपराधि नेपालमै छन् - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

चीनले पठायो अर्को पत्र: तीन जना कुख्यात अपराधि नेपालमै छन्



काठमाडौं- तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो । फरार रहेकामध्ये युको राहदानी सन् २०१८ सेप्टेम्बर १७ तारिख र जहाङको २०१९ अप्रिल १७ तारिखमा जारी भएको हो ।

चीन सरकारकै अनुरोधमा नेपालमा बसेका अन्य १ सय २२ चिनियाँलाई गत सोमबार प्रहरीले पक्राउ गरिसकेको छ । चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै छ ।

चिनियाँ दूतावासले पठाएको पत्र परराष्ट्र, गृह मन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी प्रधान कार्यालय पठाइएको थियो । त्यसको जानकारी अध्यागमन विभागलाई पनि दिइएको छ । अध्यागमन विभाग स्रोतले उनीहरू कहिले नेपाल आएको भन्ने विवरण दिन चाहेन ।

रेड नोटिसधारी विदेशी नेपालको अध्यागमन कानुन छलेर कसरी भित्रिए भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट गत सोमबार पक्राउ गरिएका १ सय २२ चिनियाँहरूका साथबाट ७ सय ४७ वटा मोबाइल सेट र ३ सय ३१ वटा ल्यापटप नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ ।

ब्युरोद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी नीरज शाहीले ९८ वटा कम्प्युटरका सीपीयू, ९९ वटा मनिटर, ५२ वटा पेनड्राइभ, ३ सय २७ वटा सिमकार्ड र ४८ हजार ८ सय ५० रुपैयाँ बराबरका रिचार्जकार्ड बरामद भएको बताए ।

प्रहरीले १ सय २२ जनालाई पक्राउ गरे पनि ६७ जनाको मात्रै राहदानी फेला परेको छ । पक्राउ परेमध्येका ३८ जना मात्रै राहदानीवाहक चिनियाँ रहेको पाइएको छ । पक्राउ परेका सबैविरुद्ध अभद्र व्यवहारको आरोपमा पाँच दिन थुनामा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

प्रहरीले सोमबार मनमैंजु, बाँसबारी र बूढानीलकण्ठस्थित १० वटा घरमा एकैपटक छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौं प्रहरी परिसर टेकु र महाराजगन्ज, बालाजु, सोह्रखुट्टे र दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

ब्युरोका डीआईजी शाहीका अनुसार अधिकांश पर्यटक भिसामा दुई महिनाअघि नेपाल आएको पनि पाइएको छ । पर्यटक भएर आउने विदेशी सुरुमा १ सय ५० दिनसम्म र पहिलो म्याद सकिएपछि भिसा अवधि नवीकरण गरेर बस्न पाउँछन् ।

पर्यटक भिसामा आएर काम गरेको पाइए उनीहरूलाई ५० हजारसम्म जरिवाना असुलेर देश निकाला गर्न सकिने प्रावधान अध्यागमन कानुनमा छ । कान्तिपुर दैनिकमा खबर छ