चिनियाँ राष्ट्रपतिले फोन गरेर भने: नेपाललाई जे परेपनि सहयोग गर्छौँ
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियां राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति सीले नेपालमा कोरोना संकटको अवस्थाको अध्ययन गरिरहेको र कोभिड–१९ विरुद्ध नेपालको संघर्षलाई दृढताका साथ सहयोग गर्ने बताएका छन्।
सोमबार सांझ भएको टेलिफोन कुराकानीमा चिनियां राष्ट्रपति सीले नेपालमा कोरोना संकटको अवस्थाको अध्ययन गरिरहेको र कोभिड–१९ विरुद्ध नेपालको संघर्षलाई दृढताका साथ सहयोग गर्ने बताएको चिनियां समाचार संस्था सिन्हामा उल्लेख छ ।
सिन्ह्वाकाअनुसार चिनियां राष्ट्रपति सीले दुवै देशका स्वास्थ्य तथा मेडिकल संस्थाहरुबीच आपसी सञ्चार र सहकार्यलाई थप सशक्त बनाउनेमा जोड दिएका छन् ।
उनले कोरोना भाइरसको महामारीको चुनौती सामान गर्न अन्तर्रा्ष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्यको खाँचो पहिलेभन्दा अझै बढेको बताएका छन् ।
राष्ट्रपति सीले यो अवस्थामा बहुपक्षीयताको रक्षा र अन्तर्राष्ट्रिय न्याय र नैतिक बलको महत्व हुनेमा फोन वार्ता माजोड दिएका थिए ।
कुराकानीपछि परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चिनियाँ राष्ट्रपति र त्यहाँका जनताको प्रशंसा गरेकी थिइन्।
मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कार्यमा फर्केकोमा चिनियाँ राष्ट्रपतिले खुशी व्यक्त गरेका थिए।
ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत दुई देशबीच कनेक्टिभिटीलाई थप विस्तार गर्नेबारे उच्चस्तरीय भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्नेमा दुई राष्ट्रपतिले जोड दिएका थिए।