काठमाडौंका गल्लीमा निस्किन पनि प्रतिबन्ध: पक्राउ गर्न निर्देशन - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

काठमाडौंका गल्लीमा निस्किन पनि प्रतिबन्ध: पक्राउ गर्न निर्देशन



काठमाडौं- काठमाडौंमा अब बिना काम मूल सडकबाहेकका गल्लीमा निस्किए पनि मानिसलाई पक्राउ गरिने भएको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकाली लकडाउन कार्यान्वयनमा थप कडाइ गर्न पक्राउ गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिए ।

यसअघि काठमाडौंका मूल सडकमा मात्र कडाई गरिएको भएपनि अब सहायक सडकमा पनि मानिसलाई बिना काम निस्कन नदिइने भएको हो ।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज गरिएको जनाएको छ । अब जारी हुने पास नीलो रङको हुने छ ।

अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारी साधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिड्न पाइने उल्लेख छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोक्ने गाडीले भने बिना पास नै आवागमन गर्न पाउने सूचनामा जनाइएको छ ।