कैलाली ‘बोक्सी’ काण्ड: एमालेका नेता हुनाले मेयरलाई कारवाही गरिएन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलाली ‘बोक्सी’ काण्ड: एमालेका नेता हुनाले मेयरलाई कारवाही गरिएन



कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका नेता हुन् ।

घोडाघडी नगरपालिका ५ देउकलीमा एक छात्रालाई बोक्सीको आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट भएको घटनामा भिडियो प्रमाणसहित पक्राउ परेका दोषीलाई सोही नगरपालिकाका मेयर चौधरीको रोहबरमा ‘मिलापत्र’ गरेर छुटाइएको थियो । तर, यो घटना मिडियामा आएपछि मात्र दोषीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जघन्य फौजदारी अपराधमा सप्रमाण समातिएका व्यक्तिलाई मिलापत्र गरी छुटाउने कार्यमा मेयर ममताप्रसादका साथै सोही वडाका वडाध्यक्ष प्रेम रोकायाको पनि संलग्नता रहेको स्थानीय प्रहरीको भनाइ छ ।

‘बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई हामीले मेयरसा’बकै रोहबरमा रिहा गरेका हौं,’ सुख्खड प्रहरी कार्यालय स्रोतले  भन्यो, ‘रिहा गर्ने कागजमा मेयरसाप र वडाध्यक्ष समेतको हस्ताक्षर छ ।’

प्रहरीले मिलापत्रमा हस्ताक्षर छ भने पनि मेयर चौधरीले आफू प्रहरी कार्यालयमा केहीबेर रमित हेरेर फर्किएको मिडियालाई प्रतिक्रिया दिएका छन् । तर, उनले यो घटना हेर्ने काम प्रहरीको हो भन्दै जघन्य अपराधको घटनाको निन्दामा एक शब्द पनि बोलेका छैनन् । उनी अहिलेसम्म पीडककै पक्षमा उदार देखिएका छन् ।अनलाइनखबर