निको भएका व्यक्तिको विर्यमा पनि भेटियो कोरोना
काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट निको हुन थालेका संक्रमितको वीर्यमा कोरोना भाइरस भेटिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण यौनसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।
चीनको शांगकियु नगर अस्पतालले ३८ जना संक्रमितको वीर्य परीक्षणबाट यो अध्ययन सार्वजनिक गरेको हो ।ती मध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस फेला परेको हो ।
जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययनले वीर्य परीक्षण गरिएकामध्ये एकचौथाइ संक्रमित संक्रमणको अवस्थामा रहेका र नाै प्रतिशत निको भइरहेको अवस्थामा रहेको उल्लेख गरेको छ ।
‘हामीले संक्रमितको वीर्यमा समेत कोरोना भाइरस रहेको पाएका छौँ, यसका साथै निको भइरहेका संक्रमितको वीर्यमा समेत कोरोना भाइरस भेटिएको छ,’ चाइनिज पिपुल्स लिब्रेसन आर्मी अस्पताल बेइजिङका डिएन्गेङ ली र उनका सहकर्मीहरूले लेखेका छन् ।
भाइरसले वीर्यमा आफ्नो संख्या वृद्धि गर्न नसके पनि त्यहाँ पाइएको जनाइएको छ ।त्यस्तै उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीले अन्य भाइरसविरुद्ध लड्न नपुग्ने क्षेत्रको परीक्षण गरेको बताएका छन् ।
अर्थात् कि मानिसको शरीरका कुनै अंगहरूमा भाइरसको संक्रमण भए पनि कुनै लक्षण नदेखाएरै त्यो रहन सक्ने क्षमताका हुन्छन् । यसअन्तर्गत अण्डकोष, आँखालगायतका अंग पर्छन् ।
यद्यपि यो कुनै आश्चर्यजनक तथ्य भने हाेइन, इबोला र जाइकाजस्ता भाइरस पनि संक्रमित निको भएको महिनौँपछि मानिसको वीर्यमा पनि पाइएका थिए ।त्यस्तै यो अध्ययनले वीर्यमा पाइएको भाइरसले फेरि संक्रमण फैलाउन सक्छ वा सक्दैन भनेर पनि पुष्टि गरेको छैन ।
‘थप अध्ययनहरूपछि यदि कोरोना भाइरस यौन संक्रमणबाट पनि सर्न सक्छ भन्ने देखायो भने त्यो जोखिमको अवस्था हुनेछ,’ अध्ययनकर्ताहरूले भनेका छन् ।संक्रमित निको भइसकेपछि पनि वीर्यमा रहेका भाइरसबाट संक्रमण फैलिन सक्ने सम्भावना भने कम हुने विज्ञहरूको भनाइ छ ।
किनकि यस्तो अवस्थामा फेलापर्ने धेरैजसो भाइरस निष्क्रिय रूपका रहने भाइरोलोजिष्टहरू बताउँछन् । यसबाट संक्रमितको ऱ्याल र रगतबाहेक अर्काे माध्यमबाट पनि संक्रमण फैलिन सक्ने कुराको खतरा भने देखाएको छ ।