एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु



विशाल पाण्डेय/कैलाली

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते ऎरको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।

भट्टका अनुसार, गौरिगंगा नगरपालिका- ९ शंकरपुरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्सले बिपरित दिशाबाट आउदै गरेको म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी- १० का भरत बोहरा सामान्य घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचार भैरहेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले बताए ।

धनगढीबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको उक्त एम्बुलेन्स र चालक धनगढी उपमहानगरपालिका- १० का आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।