विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी



काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ।

विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकारलाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उनीहरुलाई फिर्ता ल्याउन बाध्य भएको हो।

सर्वाेच्च अदालत, संघीय संसद्का दुवै सदन तथा संसदीय समितिले पनि अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिइसकेको छन्।प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुकमा पालै–पालो टेलिफोन गरी त्यहाँका नेपालीलाई ब्यवस्थापन गर्न आग्रह गरे पनि त्यसको प्रभाव नपरेको भन्दै त्यहाँका नेपालीको पीडा सार्वजनिक हुने क्रम नरोकिएपछि सरकार उद्दारका लागि अघि बढेको हो।

खाडी मुलुक र मलेसियाले बिना भिसाका र कामबाट बिदा भएर अलपत्र नेपालीलाई घर फर्काउन लागेपछि उनीहरुलाई स्वदेश ल्याउन सरकार बाध्य भएको हो।

कुवेत, मलेसिया, युनाईटेड अरब इमिरेट्स (युएई) मा बिना भिसा काम गरेका नेपालीलाई सरकारले तत्काल फिर्ता ल्याउनु पर्ने बाध्यता छ। त्यस्तै बंगलादेश र साइप्रसमा अध्ययनका लागि गएका नेपाली र अन्य मुलुकमा कामका लागि गएर उतै अड्केका नेपालीलाई फिर्ता ल्याउनु पर्ने अवस्था छ। स्वदेश ल्याइएपछि उनीहरुलाई निश्चित अवधि क्वरेन्टाइनमा राखेर घर जान दिइने छ।

परराष्ट्रमन्त्री ज्ञवालीले कति नेपालीलाई फिर्ता ल्याउने तथ्यांक तय भइसकेकोले अब विस्तारै ल्याउनेतर्फ सरकार उन्मुख रहेको बताए। ‘प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका,, बिना भिसालगायतकालाई प्राथमिकता छुट्याएर ल्याउने छौं’, परराष्ट्रमन्त्री ज्ञवालीले अन्नपूर्णसँग भने, ‘कतिपय मुलुकले ल्याइदिने भनेका छन्। एक दुई दिनमा सबै तयारी पूरा भइ फर्कने प्रक्रिया अघि बढ्नेछ।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।