आफ्नै निर्णयले आलोचनाको शिकार बने बाइडेन - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

आफ्नै निर्णयले आलोचनाको शिकार बने बाइडेन



एजेन्सी- गाजामा जारी हवाइ हमलाबीच अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (झण्डै ८६ अर्ब नेपाली) रुपैयाँ बराबरका हतियार बेच्ने तयारी गरेको छ ।

बाइडेन प्रशासनले इजरायल र प्यालेस्टाइनबीच जारी हिंसात्मक संघर्षबीच इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अमेरिकाले इजरायललाई बेच्न लागेका हतियारमा अत्याधुनिक एकीकृत प्रत्यक्ष आक्रमण हतियार प्रणाली (जोइन्ट डाइरेक्ट अट्याक म्युनिसन्स) पनि रहेको समाचारमा बताइएको छ ।

तर इजरायली बमबारी र गोलाबारीमा परी ६० बालबालिकासहित दुई सयभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको बेला हतियार बेच्ने बाइडेनको योजना अमेरिकाभित्रै आलोचित हुन पुगेको छ ।

गाजा पट्टीमा थप बमबारीको माध्यम बन्न सक्ने भन्दै अमेरिकी सांसदहरुले इजरायललाई हतियार बेच्ने राष्ट्रपति जो बाइडेनको योजनाप्रति प्रश्न उठाएको वाशिङ्टन पोष्टले जनाएको छ ।

गाजामा जारी हिंसाबीच बाइडेनले इजरायलको समर्थन गरेको भन्दै केही सहयोगी र सांसदले उनको कडा आलोचना गरिरहेका छन् । हतियार बेच्ने योजनाको संसदमा व्यापक विरोध हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

‘युद्धविराममा लागि इजरायलमाथि कुनै दबाब नदिइकनै स्मार्ट बम बेच्ने प्रस्ताविक योजना अघि बढ्यो भने यसले थप मानवीय क्षति निम्त्याउँछ’, संसदको विदेश मामिला समितिका एक सदस्यलाई उदृत गर्दै वाशिङ्टन पोष्टले लेखेको छ ।

त्यस्तै केही डेमोक्रेटहरुले इजरायललाई हतियार बेच्ने योजनाबाट तत्काल पछि हट्न बाइडेनलाई आग्रह गरेका छन् । गाजामा जारी संघर्षबीच अत्याधुनिक हतियार बेच्ने योजनालाई अघि बढाएमा बाइडेन प्रशासनका लागि दुर्भाग्यपूर्ण हुने सांसद इलहन ओमरको भनाइ छ ।

‘बढ्दो हिंसा र सर्वसाधारणमाथिको आक्रमणका बेला कुनै सर्तबिना नेतान्याहुलाई ७३५ मिलियनका अत्याधुनिक हतियार बेचेमा बाइडेन सरकारका लागि दुर्भाग्यपूर्ण हुनेछ‘, ओमरले भनिन्, ‘यदि योजना अघि बढ्यो भने यसलाई थप द्धन्द्ध चर्काउन दिने अनुमतिको रुपमा लिनुपर्छ र यसले युद्धविरामका लागि गरिने हरेक प्रयासलाई कमजोर बनाउँछ ।’