कर्मचारीको मागबमोजिम आइसोलेसन सेन्टर व्यवस्था गर्दै कृषिमन्त्री भुसाल - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

कर्मचारीको मागबमोजिम आइसोलेसन सेन्टर व्यवस्था गर्दै कृषिमन्त्री भुसाल



काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कर्मचारीको लागि आइसोलेसन केन्द्र बनाउन निर्देशन दिएका छन् । कृषि मन्त्रालय अन्तर्गतका कर्मचारीहरू समेत सेवा दिने क्रममा कोरोनाको चपेटामा परेपछि कर्मचारीहरूको माग बमोजिम आइसोलेसन केन्द्र बनाउन लागिएको हो ।

काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमणको जोखिमलाई समेत मध्यनजर गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, कृषि तथा पशुपन्छी विभागीय समितिले संक्रमित कर्मचारीको हेरचाहको लागि आइसोलेसन केन्द्र स्थापनाको माग गरेका थिए । सोहि बमोजिम मन्त्री भुसालले आइसोलेसन स्थापनाको लागि सचिवहरूलाई निर्देशन दिएको र केही दिनमा नै तयार हुने बताइएको छ।

अहिले सरकारी कर्मचारीहरूले सरकारको आदेश अनुसार नियमित सेवा प्रवाह गरिरहेको अवस्थामा उनीहरू पनि संक्रमणको उच्च जोखिममा रहेका छन् । यसै क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतका काठमाडौँ उपत्यकाका कार्यालयमा कार्यरत करिब १५ जना कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छ।

उपत्यकाका कार्यालयहरूमा कार्यरत अधिकांश कर्मचारी भाडाको कोठामा बस्ने हुँदा यस्ता कर्मचारीमा संक्रमण देखिएको खण्डमा गाँस तथा बासको समस्या पर्नसक्ने तथा सामाजमा झेल्नुपर्ने व्यवहारको सम्भावनालाई ध्यानमा राखी नेपाल राष्ट्रिय कर्मचारी संगठन, कृषि तथा पशुपन्छी विभागीय समितिले संक्रमित कर्मचारीको हेरचाहको लागि आइसोलेसन केन्द्र स्थापनाको माग गर्दै मिति यहि भाद्र ९ गते कृषिमन्त्रीलाई मागपत्र पेश गरेका थिए । सोहि माग बमोजिम आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको हो ।

कर्मचारीहरूले मन्त्री भुसालको सुरु गरेको यो कदम अन्य मन्त्रीहरूको लागि समेत उदाहरणीय हुन सक्ने बताएका छन् ।