संकटमा पनि रोकिएन भाटभटेनीको ठगी धन्दा
काठमाडौं- संकटको बेला पनि भाटभटेनी सुपर मार्केटको कालो धन्दा रोकिएको छैन । महामारीको आहालमा रहेका जनतालाई दैनिक उपभोग्य सामानमा अत्यधिक बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको छ ।
शोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु. तीन लाख जरिवाना गरेको हो ।
विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ।
लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।