झनै बढ्यो भारतको दादागिरी: कालापानीमा हजारौँ सेना बढायो
काठमाडौं- भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबीढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको संख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ ।
सीमा क्षेत्रमा सवारीसाधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । ‘विगतमा यत्तिका भारतीय सुरक्षाकर्मीको सवारीसाधन यस सडकखण्डमा आउँदैन थिए,’ व्यास– २ का मुकेश बुढाथोकीले भने, ‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौजसमेत गरेका थिए ।’
नेपाल सरकारले घाँटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ ।
भातरले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाँटीबगर, दोपाखे, पोला, बुदीलगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभागमार्फत डोजर ल्याएर आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामी भन्छन्, ‘ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।’
नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नाबी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुन्जीदेखि कालापानी, नाबीढाङसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।
व्यासका स्थानीयवासी भन्छन्, ‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।’ भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानीनजिकैको कौवा र तिंकरमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्दै छ ।
नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङरूमै नेपाली सेनालाई राख्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत प्रस्तावसमेत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेले भने, ‘व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमानाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।’ रासस