बैंकिङ क्षेत्रमा ह्वात्तै बढ्यो कोरोना: कर्मचारी र ग्राहक उच्च जोखिममा
काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।
कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।
नेपाल राष्ट्र बैंक र बंैक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ ।
प्रत्यक्ष रूपमा सर्वसाधारणको सम्पर्क नरहने नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएपछि गभर्नर महाप्रसाद अधिकारीसमेत होम आइसोलेसनमा बसिरहेका छन् ।
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एभरेस्ट, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।
प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बैंकका न्युरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटमा रहेका शाखा तथा एक्सटेन्सन काउन्टरमा कोरोना संक्रमित कर्मचारी भेटिएको छ ।
सानिमा बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । यस साता मात्रै नेपालगन्ज, वीरगन्ज, विराटनगर, धनगढी, धादिङ, भैरहवा, हेटौंडा, लहानसहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकाभित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरूमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र त्रसित हुन थालेको छ ।
संक्रमण बढ्न थालेपछि अधिकांश बैंकले शाखा र एक्सटेन्सन काउन्टर बन्द गरी केन्द्रीय कार्यालयमा अत्यावश्यक कर्मचारी मात्र बोलाएर सेवा दिएको छ । अधिकांश कर्मचारीलाई बिदा दिइएको छ ।
हालसम्ममा एभरेस्ट बैंकको लाजिम्पाट शाखामा २, कपिलवस्तु र वीरगन्ज शाखाका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । यसैंगरी राष्ट्रिय वाणिज्य बैंकको दिपायल शाखा र भरतपुर शाखामा एकएक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
एसबीआइ बैंकको भैरहवा शाखाका १३ जना कर्मचारीमा एकैचोटि कोरोना संक्रमण पुष्टि भएको थियो । ग्लोबल आइएमई बैंकको लाहान, रोल्पा र धनगढीमा एक एक जना कर्मचारीलाई पनि कोरोना भएको पुष्टि भएको छ । प्रभु बैंकको सौराहा शाखामा पनि एक जनामा कोरोना देखिसकेको छ ।
प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय पूरै बन्द गरिएको छ । यसैगरी सनराइज बैंकको गोंगबुस्थित एउटै शाखाका ६ जनामा कोरोना संक्रमण देखिएको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथलीमा पनि एउटै शाखाका ६ जना कर्मचारीलाई कोरोना संक्रमित भएको थियो । एभरेस्ट बैंकको पनि मुख्य कार्यालयमै २ जनालाई कोरोना संक्रमण भएको छ ।
कृषि विकास बैंकको गुल्मी शाखा, लक्ष्मी बैंकको दाङ शाखा, नबिल बैंकको इटहरी शाखाका एक/एक जनामा र एनएमबी बैंकको बिर्तामोड शाखाका २ जनामा कोरोना पुष्टि भइसकेको छ ।
संक्रमण देखिएका र उनीहरूको सम्पर्कमा आएका कर्मचारीलाई विभिन्न होटलमा आइसोलेसनमा राखिएको छ । सुरुमा उपत्यकाबाहिरका शाखामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो । पछिल्ला दिनमा काठमाडौं उपत्यकाका शाखा र तीनका पनि मुख्य कार्यालयमा कार्यरत कर्मचारीमा संक्रमित हुने क्रम बढ्न थालेको छ । नेपाल बैंकर्स एसोसिएसनले संक्रमित कर्मचारीलाई उपचार गर्न अस्पताल र आइसोलेसनमा राख्न संघले सहजीकरण गरिरहेको छ ।
कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था भइसकेको छ । राष्ट्र बैंकले कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र त्यसको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्न निर्देशन गत साता दिएको थियो ।
संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलमा सुरक्षित रूपमा क्वारेन्टिनमा राख्ने र सोको सम्पूर्ण खर्च पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
‘कर्मचारीको पिसिआर परीक्षण गराउने र त्यसको सम्पूर्ण खर्च बैंकले बेहोर्ने,’ निर्देशनमा भनिएको छ । आइसोलेसनमा रहने कर्मचारीलाई सो अवधिमा तलबसहित अतिरिक्त बिदाको व्यवस्था गर्न पनि राष्ट्र बैंकले भनेको छ । क्वारेन्टिनमा रहने कर्मचारीलाई सो अवधिमा ‘वर्क फर्म होम’ को व्यवस्था गर्न र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ ।
कोभिड–१९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा आफ्ना समस्त कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बिमा गराएको छ ।
बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्डलगायतका आउटसोर्स कर्मचारीहरूको बिमा गराइसकेको छ । बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति दिने व्यवस्था रहेको पूर्णभक्त दुवालले राजधानीमा लेखेका छन् ।
बैंकहरूले आफ्ना कर्मचारीहरूलाई मास्क, सेनिटाइजर तथा पन्जालगायतका सुरक्षा सामग्रीहरू उपलब्ध गराई वित्तीय सेवाहरू सावधानीपूर्वक प्रदान पनि गरिरहेका छन् । विभिन्न सावधानीका विधिहरू अवलम्बन गर्दै गर्दा पनि कुनै भवितव्य भई आएको खण्डलाई मनन गर्दै बिमा गरिएको हो । बैंकहरूले ग्राहकलाई पनि बैंकमा नआउन र इन्टरनेट बैंकिङ गर्न आग्रह गर्दै आएको छ ।
नगद नै चाहेको भए एटिएमबाट रकम निकाल्नुअघि र पछि स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।