कहाँ हराए वामदेव गौतम ?
काठमाडौं- नेकपा एमाले विभाजन भएपछिको महाधिवेशन चितवनको सौराहामा चलिरहेका बेला विद्रोही समूहमा नगएका एक नेतालाई धेरै कार्यकर्ताका आँखाले खोजीरहे अध्यक्ष केपी शर्मा ओलीले दशौँ महाधिवेशनको बन्दसत्रमा आफूसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम घोषणा गरे तर ती महत्वपूर्ण पात्रको नाम कतै देखिएन।
शनिबारको बन्दसत्रले ओलीलाई केन्द्रीय सदस्य र पदाधिकारीको नाम छनोट गर्ने जिम्मेवारी दिएको थियो। भीम रावल, घनश्याम भूसाललगायतका नेताहरूको विरोधकै बीच ओली पक्षले पेलेरै केन्द्रीय कमिटीको नामावली अनुमोदन गरिसकेको छ । यसअघिको महाधिवेशनमा पार्टीको उपाध्यक्ष जितेको नेता कतै भटिएनन् । न उनी उपस्थित भए न उनको नाम कतै उल्लेख थियो ।
पार्टीमा अल्पमत र बहुमतको खेल हुँदा ओलीलाई पटकपटक साथ दिएका एमालेका उपाध्यक्ष भने देखिएन, ति थिए वामदेव गौतम। नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतमको नाम ओलीले तयार पारेको केन्द्रीय सदस्यको सूचीमा समेत नपरेपछि थप आश्चर्य लाग्ने नै भयो ।
गौतमले गत १८ भदौमै उपाध्यक्षसहित सबै पदबाट राजीनामा दिए पनि अध्यक्ष ओलीले उनको राजीनामा स्वीकृत भने गरेका छैनन् । पार्टीको नयाँ नेतृत्वमा नै नपरेपछि एमालेबाट उनको यात्रा टुंगिएको छ। राजीनामा दिँदा समेत गौतमले ओली रहेसम्म एमालेमा नफर्किने बताएका कारण उनी एमालेबाट अलग्गिएका हुन् कि भन्ने लाग्छ।
पञ्चायतकालदेखि नै नेपाली राजनीतिमा लोकप्रिय गौतम ७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएयता उपनिर्वाचनबाट प्रतिनिधिसभामा छिर्न अनेक तिकडम गरे पनि उनी सफल भने हुन सकेनन्। तथापि, तत्कालीन नेकपाभित्र उनको राम्रो प्रभूत्व थियो। नेकपा विभाजित भएयता मौन उनले माधव नेपालले एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेलगत्तै आफ्नो समर्थन रहेको जनाएका थिए।
गौतमनिकट स्रोतका अनुसार उनी नेपालसँग छलफल गरेरै एमाले छाड्न तयार भएका थिए। तर हालसम्म उनले नेकपा (एस)को सदस्यता भने लिएका छैनन्। एमालेको दशौँ महाधिवेशनका दौरान बहाना बनाएर चुपचाप गृहजिल्ला पुगेका उनी मौन नै छन्।
एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्रमासम्म उनी पुगेनन्। एमाले महाधिवेशनमा व्यस्त हुँदा यसअघि महाधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने वामदेव एकाएक गृहजिल्ला बर्दिया गएको खबर बाहिरिए पनि उनी काठमाडौं निवासमै रहेको खुलेको छ। स्रोतका अनुसार गौतम आफ्नै निवास भैसेपाटीमा छन् ।
तत्कालीन माले, एमाले हुँदै नेकपाबाट पुन: एमालेसम्मकै यात्रामा गौतमको वरीयता पुरानै हो। मनमोहन अधिकारी र माधव नेपालको नेतृत्वमा उपमहासचिवको जिम्मेवारी सम्हालेका गौतमसँग पार्टी सञ्चालनको राम्रो अनुभव पनि छ भने धेरैपटक उपप्रधानमन्त्री र गृहमन्त्री भएका उनीसँग सरकार सञ्चालनको पनि अनुभव छ।
२०४८ र ५१ मा बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित गौतम ५६ र ६४ सालमा पराजित भए। त्यसपछि २०७० सालको चुनाव प्यूठानबाट लडेर निर्वाचित उनी ७४ मा पुन: बर्दियाबाट पराजित भएका थिए। २०५३ मा ८ महीना उपप्रधानमन्त्री र गृहमन्त्री भएका उनी २०६५ र २०७० को निर्वाचनपछि पनि त्यही भूमिकामा देखिएका थिए।
वि.सं. २०२१ देखि सक्रिय कम्युनिष्ट नेता गौतम के अब राजनीतिबाटै अलग्गिए जस्तो देखिएको छ । उनीनिकट नेताहरूले पनि वामदेव तत्काल राजनीतिमा सक्रिय हुने मूडमा नभएको बताउने गरेका छन् ।
गौतम पदबिना अन्य पार्टीमा नजाने भएकाले सम्भवतः चाँडै नेपाल नेतृत्वको (एस)मा जान सक्ने उनले बताए। अथवा वामदेव आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गराएर अघि बढ्ने उनको विश्लेषण छ।