बालुवाटारमा ल्याप्चे, प्रचण्ड-वामदेवको पनि सम्बन्ध बिग्रियो - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बालुवाटारमा ल्याप्चे, प्रचण्ड-वामदेवको पनि सम्बन्ध बिग्रियो



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको एक सांसदले बताए ।

यससंगै संसदीय दलमा बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री फेर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा गर्नका लागि केहि नेताहरूलाई हस्ताक्षर जुटाउन लगाएका थिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि काङ्ग्रेस, मधेसवादी दलका नेताहरूलाई भेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्रीले संसदीय दलभित्र बहुमतमा रहेको संदेश दिन खोजेको बुझिएको छ ।

कांग्रेसका केही नेता र मधेसवादी दलका नेताहरूसँगको छलफलपछि प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउने सूचना पाएपछि प्रधानमन्त्रीले यस्तो गरेको दाबी छ ।

कांग्रेस या मधेसवादी दलका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना पाएपछि दुई अध्यक्षबीच असमझदारी उत्कर्षमा पुगेको थियो । प्रचण्डले पार्टीका सांसदहरू बोलाएर हस्ताक्षर गराउने तयारीसमेत गरेका थिए ।

गठबन्धनको भावनाविपरीत प्रचण्डले अरू दलसँग मिलेर सरकार ढाल्न खोजेको भन्दै उपाध्यक्ष वामदेव गौतमले आफूनिकटका सांसदलाई हस्ताक्षर नगर्न भनेको स्रोत बताउँछ । यससंगै बामदेव र प्रचण्डको समेत सम्बन्ध बिग्रिएको आंकलन गरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न सांसदहरू बालुवाटार जानेक्रम जारी छ । ओलीका पक्षमा रहेका अतिरिक्त उपाध्यक्ष वामदेव गौतम खेमाका सांसदहरू पनि बालुवाटार पुगेका छन् । स्रोतका अनुसार गौतमनिकट भनिएका गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर राना, रामवीर मानन्धरलगायत सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ । प्रधानमन्त्री ओली केही दिनदेखि सांसदहरूसँग छलफलमा जुटेका थिए । सोमबार र मङ्गलबार सांसदहरूलाई बोलाएर शीर्ष नेताहरू नै सरकार परिवर्तन गर्न लागेकाले पार्टी विभाजन हुने खतरा औंल्याएका थिए ।