नेकपा कार्यालय धुम्बाराही कि बालुवाटार ? सरकारी सम्पति पार्टीको अखडा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नेकपा कार्यालय धुम्बाराही कि बालुवाटार ? सरकारी सम्पति पार्टीको अखडा



काठमाडौं- सत्तारुढ दल नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको छ । जनताको कोषबाट सञ्चालित बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर नेकपाले राजनीतिक मात्र होइन, आर्थिक रूपमा पनि राज्यलाई दोहन गरिरहेको छ ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकताको घोषणा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेका थिए । २ जेठ ०७५ मा पार्टीका केन्द्रीय सदस्य बालुवाटारमा भेला भएर एकतासम्बन्धी निर्णयको अनुमोदन गरेका थिए । ३ जेठमा घोषणा भएको नेकपा केन्द्रीय समितिका चार सय ४१ सदस्यले शपथ मात्र होइन, खुसियालीको भोज पनि बालुवाटारमै खाएका थिए ।

त्यसो त केन्द्रीय कमिटीको पहिलो बैठक १० जेठ ०७५ मा बालुवाटारमै बसेको थियो । त्यस्तै, नेकपा केन्द्रीय सचिवालयका ५० बैठक बालुवाटारमै बसेका छन् । आजको नयाँ पत्रिकामा रमेश सापकाेटा र शुरोजङ्ग पाण्डेले नालीबेली उतारेका छन्।

पार्टी एकतापछि बालुवाटारमा नेकपाका ५० भन्दा बढी बैठक बसेका छन् । त्यसमध्ये जम्मा दुई बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेका छन् । ‘प्रधानमन्त्री तथा अध्यक्ष अस्वस्थ भएर अनुपस्थित भएका वेला दुई बैठक पार्टी कार्यालयमा बसिएको हो, त्योभन्दा अरू सबै बैठक सरकारी निवासमै भएका छन्,’ नेकपा सचिवालयका एक सदस्यले भने ।

३ फागुन ०७४ मा ओली प्रधानमन्त्रीको रूपमा नियुक्त भएयता पार्टीका महत्वपूर्ण र धेरै बैठक प्रधानमन्त्रीकै सरकारी निवासमा भएका छन् । अनौठो यो छ देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाका दुईवटा केन्द्रीय कार्यालय छन्, तर बैठकस्थल भने बालुवाटार बनेको छ ।

नेकपा स्थायी कमिटीको बैठक बुधबार बालुवाटारमा सुरु भएपछि सबैको ध्यान आकर्षित भएको छ । ‘प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनस्रोतको दुरुपयोग गरी पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो । राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्य अन्त गरियोस् । राज्यको सम्पत्ति रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हो,’ नेकपा स्थायी कमिटीको बैठकको दोस्रो दिन शुक्रबार पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गरे ।

तर, तेस्रो दिन शनिबार पनि नेकपा बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्यो । बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार र शनिबार गरी तीन दिन बालुवाटारमै बसेको छ । सातवटा एजेन्डामा केन्द्रित बैठकमा अहिलेसम्म एउटा मात्रै एजेन्डामा छलफल भएको छ । बैठक १६ असारसम्मका लागि स्थगित भएको छ । यही अनुपातमा छलफल हुने हो भने ४५ सदस्यीय स्थायी कमिटीको बैठक अरू केही दिन लम्बिनेछ ।

प्रधानमन्त्रीको सरकारी निवासमा हुने बैठक, भेला र भोजभतेरमाथि विपक्षी मात्र होइन, नेकपाभित्र आवाज वेलावेला उठ्ने गरेको छ । कहिलेकाहीँ बालुवाटारमा हुने बैठकलाई लिएर नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टिसमेत पोख्ने गरेका छन् । त्यहाँ हुने खर्चसमेत सार्वजनिक भएका छैनन् ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बस्ने परिपाटी गलत भएको भन्दै सचिवालय बैठकमै प्रश्न उठ्ने गरेको बताए । उनले भने, ‘पार्टी एकतापछि सबैजसो बैठक बालुवाटारमै बस्ने गरेका छन्, यो अनुपयुक्त भयो भनेर बैठकमै प्रश्न उठेको छ, तर प्रधानमन्त्रीको स्वास्थ्यप्रति पनि संवेदनशील बन्नुपरेका कारण जोडदार रूपमा प्रश्न उठाइएको छैन ।’ तर, प्रधानमन्त्री भने विभिन्न कार्यक्रममा भाग लिन स्वदेशमा तेह्रथुमदेखि विदेशमा स्वीट्जरल्यान्डसम्म पुग्दै आएका छन् ।

पछिल्लोपटक शुक्रबारको स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्य र भीम रावलले यो मुद्दा उठाएका थिए । ‘हामी बालुवाटारमै बैठक बसिरहेका छौँ । सायद प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेरै बैठक राखिएको होला, तर उहाँ नै उपस्थित नै हुनुहुन्न । यो त सीधै बैठकमाथिकै अपमान भयो,’ शाक्यको भनाइ थियो, ‘सुझाबै लिन नचाहने भएपछि त गम्भीर विषय भयो । यस्तै थियो भने त पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्दा भइहाल्थ्यो ।’

रावलको भनाइ थियो, ‘पहिला प्रधानमन्त्री अस्वस्थ हुनुहुन्थ्यो, त्यसैले हामी बैठकका लागि यहाँ (बालुवाटारमा) उपस्थित हुने गथ्र्यौँ, अहिले त उहाँ बिरामी पनि हुनुहुन्न, बैठकमा उपस्थित पनि हुनुहुन्न, हाम्रा सुझाब सुन्न पनि चाहनुहुन्न । यसरी उहाँले बैठकलाई उपेक्षा गरेर अनुपस्थित हुने हो भने यो बैठक धुम्बाराहीमा सारौँ ।’

अन्य दलका नेता र राजनीतिक विश्लेषकहरू प्रधानमन्त्रीको सरकारी निवासलाई सत्तारुढ पार्टीको आन्तरिक विवादको अखडा बनाइएको टिप्पणी गर्छन् । ‘बालुवाटारमा पार्टीको बैठक बसेको विषयमा हिजो कांग्रेसका पाला पनि प्रश्न उठेको थियो, आज पनि प्रश्न छ । बालुवाटारमा पार्टीको बैठक हिजो पनि ठीक थिएन, आज पनि छैन । मुख्य विषय, हामी सुध्रियौँ भन्ने हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘फेरि पार्टीका बैठकमा अब कुन ढंगले काम गर्ने भन्ने विषयमा छलफल गर्ने हो, कुन रंगको कुर्सीमा कता बस्ने भन्ने विषय प्राथमिक नहुनुपर्ने हो । सत्ताको सफलता कुर्सीको साइजमा होइन, क्षमता र शैलीमा हुन्छ ।’

पूर्वउपप्रधानमन्त्री एवं संघीय समाजवादीका नेता उपेन्द्र यादवले बालुवाटारमा बैठक बसेर नेकपाले देशको भन्दा पनि कुर्सी र कमिसनको चिन्ता गरिरहेको टिप्पणी गरे । ‘बहुमत प्राप्त दल सरकारमा हुँदा बढी जिम्मेवार हुनुपर्ने हो । तर, नेकपामा राष्ट्र र मुलुकको जिम्मेवारीभन्दा कुर्सी र कमिसनको चिन्ता बढी सुनिन्छ । एक–अर्कालाई सानो देखाउने होड देखिन्छ । सरकारको नेतृत्वकर्ता दलको यो शैलीले जनताले दुःख पाउँछन्,’ उनले भने ।

राजनीतिक विश्लेषक कृष्ण खनाल भने ओली र प्रचण्डको विवादले गाँजिएको नेकपाले पार्टीको आकार नै ग्रहण गर्न नसकेको टिप्पणी गर्छन् । त्यसैले बैठक जहाँ बसे पनि फरक नपर्ने उनको भनाइ छ । ‘ओली र प्रचण्ड दुई व्यक्तिको स्वार्थले नेकपा गाँजिएको छ । पार्टीभित्रका सबैले दुईजनालाई मात्र छोडिदिए । अहिले पनि यो पार्टी दुईजनाको भन्दा बढीकोे देखिँदैन,’ उनी भन्छन्, ‘यिनीहरू को सोफामा, को अगाडि, को पछाडि बस्ने भन्ने विवादमा छन् । दृष्टिकोण सकिएपछि यस्ता विषय प्रमुख हुन्छन् । त्यसैले नेकपा भन्ने पार्टी छ भन्नु राजनीतिलाई धोका हो ।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सकेसम्म बैठक बालुवाटारमा नबस्दा राम्रो हुने बताउँछन् । श्रेष्ठ भन्छन्, ‘सामान्यतया पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नगर्नु नै उपयुक्त हुने हो । तर, प्रधानमन्त्रीको अहिलेको स्वास्थ्य स्थितिको सीमाको कारणले यो अवस्था आएको मात्र हो । तर, हामी पनि सामान्यतया पार्टी बैठक सरकारी निवासमा नगर्नु नै उपयुक्त हुन्छ भन्ने कुरालाई अन्यथा लिँदैनौँ ।’

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आवश्यकताले बालुवाटारमा बैठक बसेको तर्क गर्छन् । ‘आवश्यकताले बैठक बसेको हो । बालुवाटार प्रधानमन्त्रीको सरकारी कार्यालय होइन, निवास हो । निवासको पनि सचिवालय हलमा बस्ने गरेको हो । अरू कार्यक्रम पनि हुन्छन् । कहिलेकाहीँ सार्वजनिक कार्यक्रम पनि हुन्छन्,’ उनी भन्छन्, ‘सामान्यतया बैठक पार्टी कार्यालयमा गर्ने हो, तर स्थायी कमिटी सदस्यलाई सोसल डिस्ट्यान्समा राख्न बालुवाटारलाई सदुपयोग गरिएको हो । यो त अन्डरस्टुड छ ।’

बालुवाटारमा बैठक, भेला र भोजका शृंखला

चार दर्जन सचिवालय बैठक बालुवाटारमा, दुई धुम्बाराहीमा

३ जेठ ०७५ मा तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेकपाको केन्द्रीय सचिवालयको बैठक अहिलेसम्म चार दर्जनपटक बसेको छ । तीमध्ये दुईबाहेक सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएका छन् ।

नेकपाको अन्तरिम विधानमा १५ दिनमा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था छ । जसअनुसार सबैजसो बैठक बालुवाटारमा भए पनि ०७६ को ९ भदौ र १४ मंसिरसहित दुईपटक मात्र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बसेको छ ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका वेला भदौ ०७६ मा नेकपा सचिवालयको बैठक पहिलोपटक धुम्बाराहीमा बसेको थियो । त्यस्तै, १४ मंसिरमा दोस्रोपटक बैठक हुँदा ओली एपेन्डिसाइटिसको उपचारको सिलसिलामा अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बैठक बोलाएर आधा घन्टाभन्दा बढी पर्खाएपछि २२ मंसिर ०७५ मा सचिवालयका चार नेताले बैठक बहिष्कार गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले अरू नेताको समयको ख्याल नगरी उपेक्षा गरेको भन्दै बैठक बहिष्कार गरेका थिए । उनीहरूले त्यसपछिका बैठक पार्टी कार्यालय धुम्बाराहीमा हुनुपर्ने माग गरेका थिए । एक सातापछि २९ मंसिरदेखि १२ पुससम्म बसेको स्थायी कमिटीको दोस्रो बैठक धुम्बाराहीमै भएको थियो ।

सचिवालयको बैठक बालुवाटारमा बस्दै आए पनि स्थायी कमिटीको बैठक भने पार्टी कार्यालयमै बस्दै आएको थियो । स्थायी कमिटीको पहिलो बैठक बालुवाटारमा बसे पनि त्यसपछि तीन बैठक पार्टी कार्यालयमा बसेका थिए । तर, पाँचौँ बैठक फेरि बालुवाटार सारिएको छ ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकताको घोषणा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेका थिए । २ जेठ ०७५ मा पार्टीका केन्द्रीय सदस्य बालुवाटारमा भेला भएर एकतासम्बन्धी निर्णयको अनुमोदन गरेका थिए । ३ जेठमा घोषणा भएको नेकपा केन्द्रीय समितिका चार सय ४१ केन्द्रीय सदस्यले शपथ मात्र होइन, खुसियालीको भोज पनि बालुवाटारमै खाएका थिए ।

३ फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि बालुवाटारमै थुप्रैपटक सांसदहरूको भेला र बैठक पनि गर्दै आएका छन् । बजेटपछिको सांसदको भेला पनि नेकपाले संसदीय दलमा होइन, बालुवाटारमै गर्दै आएको छ ।

बालुवाटारमै ओली वंशको भेला र सम्मान

प्रधानमन्त्री ओलीले थुप्रै सार्वजनिक कार्यक्रमसमेत सरकारी निवास बालुवाटारमा आयोजना गरेका छन् । २३ भदौ ०७५ मा ओली वंशको साधारणसभा बालुवाटारमै आयोजना गरिएको थियो । सो कार्यक्रममा ओली वंश अक्षयकोषले प्रधानमन्त्रीलाई अभिनन्दन गरेको थियो । ओलीका पिता मोहनप्रसाद र पत्नी राधिका पनि सम्मानित भएका थिए ।

सारंगी साँझसम्मका भोजै–भोज

प्रधानमन्त्री ओलीले बालुवाटारमै आफ्नो बर्थडे मनाउनेदेखि पार्टी नेता, सांसद, कलाकार र पारिवारिक भोज आयोजना गर्दै आएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच फागुन ०७४ मा पार्टी एकताको सैद्धान्तिक घोषणा भएपछि मात्र होइन, ३ जेठ ०७५ मा एकता घोषणा भएको साँझ पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा नेता–कार्यकर्ताका लागि भोजसहितको कार्यक्रम राखेका थिए ।

त्यसपछि ओली प्रधानमन्त्री बनेको एक हप्तामै ११ फागुन ०७४ मा ६७औँ, त्यस्तै ८ मंसिर ०७६ मा मन्त्री र उनीहरूका परिवार तथा १९ माघ ०७६ मा केन्द्रीय कमिटी बैठक समापनपछि केन्द्रीय सदस्य र सांसदहरूलाई बोलाएर रात्रिभोज दिएका थिए ।

तर, सरकारी सम्पत्ति दुरुपयोग हुने गरी कम्युनिस्ट आचारणविपरीत भोज आयोजना गरिएको भन्दै युवा नेताहरू राजेन्द्र राई, ठाकुर गैरे, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्रीसहितका नेताले भोज बहिष्कार गरेका थिए ।

लगत्तै दुई दिनपछि २१ माघमा सारंगी साँझ आयोजना गरेर प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका थिए । दिउँसो मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तत्र्रिmया सकिएपछि आयोजित सारंगी साँझमा बाँसुरी समाएर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि ओलीलाई साथ दिएका थिए ।

त्यस्तै, ८ असार ०७६ मा इद, ३० चैत ०७५ मा नयाँ वर्षको अवसर पारेर बालुवाटारमा रात्रिभोज आयोजना भएको थियो । अघिल्लो कार्यकालमा भारतीय नाकाबन्दीको समयमा पनि बालुवाटारमा भोज आयोजना गरिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको थियो ।