बाहिरि जिल्लाबाट ठुलो संख्यामा मानिसहरू काठमाडौं छिरेपछि... - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बाहिरि जिल्लाबाट ठुलो संख्यामा मानिसहरू काठमाडौं छिरेपछि…



काठमाडौं – बाहिरि जिल्लाहरूमा कोरोना भाइरस संक्रमित बढ्न थालेपछि एकाएक काठमाडौं छिर्नेको संख्या निकै बढेको छ । उपत्यकाका विभिन्न नाकाहरूबाट अन्य जिल्लाका मानिसहरू निकै धेरै आउन थालेको बताइएको छ ।

यसरी अन्य जिल्लाबाट ठुलो संख्यामा मानिसहरू आउन थालेपछि सुरक्षा ब्यबस्था कडा बनाउन थालिएको छ । आइतबार मात्र १६ जना संक्रमित भेटिएपछि लकडाउनलाई पनि थप कडाइ गरिएको छ ।

सुरक्षाकर्मीहरुले आज बिहानैबाट अत्यावश्यक कामका लागि भन्दै बाहिर निस्किएकाहरुलाई घर फिर्ता पठाइरहेको छ ।

प्रहरीले एक पालिकाबाट अर्को पालिकामा जानसमेत कडाई गरेको छ । त्यस्तै जिल्ला–जिल्लाबीच पनि कडाई पारिएको नेपाल प्रहरीले जनाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण कोरोना संक्रमितको सख्ंया तुलनात्मक रुपमा घटेको निष्कर्ष निकालेपछि लकडाउनलाई थप कडा पारिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई लकडाउनमा कडाई गर्न निर्देशन दिएपछि सुरक्षाकर्मीले थप सतर्कता बढाएका हुन् ।

त्यस्तै राजधानी बाहिर कोरोनाको जोखिम बढ्न थालेपछि काठमाडौं उपत्यका भित्रिनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाका नाकाहरुबाट बाहिरी जिल्लाबाट मानिसहरुको आवातजावत बढ्न थालेपछि प्रहरीले कडाई गरेको छ ।

नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । प्रहरीले सिडिओले पास दिएका सवारी साधनहरुलाई पनि कडाई गरेको छ । अवस्था हेरेर मात्र छिर्न दिने निर्णय प्रहरीले गरिरहेको छ ।