बाध्यताले लकडाउन उलंघन: मल अभाव हुँदा किसान समस्यामा
विशाल पाण्डेय/कैलाली-
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि लक डाउन गरिएपनी त्यसको उलंघन गर्दै सामाजिक दुरि कायम नराखी मल बिक्री वितरण गरेको पाइएको छ ।
सरकारले कृषि उत्पादन तथा बिक्री वितरण , खाद्य बस्तु तथा अन्नबाली लगाउने ,भित्र्याउने काम लगायतका कार्यहरू गर्न भनेपनी त्यसको सामाजिक दुरि कायम नगरी विक्री वितरण तथा खरिद गरिएको पाइएको हो ।
नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा सधै मल अभाव हुने घोडाघोडी नगरपालिका -१ लक्ष्मीपुरका किसान नरेश बमले बताए । बिहानै मल लिनको लागि घोडाघोडी नकरोड बहुउद्देश्यीय सहकारी सुखडमा पुगेका बमले खेतीपातीको समयमा हरेक बर्ष किसानलाई मलको समस्या हुने बताए । उनले देशमा लकडाउन भएपनी बाध्यताले मल लिन लाइन बस्न परेको बताए ।
‘धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपी लगायत मल आवश्यक पर्छ । ‘अहिले धानको बीउ छर्ने बेला आएको छ, मलको अभावमा समयमा बीउ छर्न पाइँदैन ।’ अर्का किसान घोडाघोडी नगरपालिका- ५ डुडा कि आशा कुमारी चौधरीले भनिन् , “पछि झन मलको अभाव हुन्छ कि भन्ने चिन्ताले अहिले नै मल लिन बिहानै ५ बजे आएर लाइन लागेको छु ।” उनले बर्ष भरी खानको लागि गरिने खेतिको लागि बाध्यताले कोरोनाको डर हुँदा पनि लाइनमा लागेको बताइन् ।
यता घोडाघोडी नकरोड सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्र मल्लले आफुले अर्डर गरे बमोजिम मल उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परेको बताए । उनले लाइन लाग्दा सामाजिक दुरि कायम गर्न आग्रह गर्दा समेत दुरि कायम नगरी नजिकै बस्ने गरेको बताए ।
त्यस्तै घोडाघोडी नकरोड सहकारी कि अध्यक्ष लक्ष्मी चौधरीले देशमा लक डाउन भएपनी पछि मल नपाइने पो हो कि ? भनेर किसानहरु बिहानै देखी लाइनमा आएर बसेको बताइन् । आफुहरुले पटकपटक दुरि कायम गरेर बस्नको लागि आग्रह गर्दा पनि नमानेको बताइन् ।
सहकारीमा ८० क्विन्टल डिएपी र ७० क्विन्टल युरिया आएपनी सयौंको संख्यामा मानिसहरु लाइन लागेको बताइन् । उनले किसानहरु यस्तो समस्या पर्दा पनि जनप्रतिनिधिले वास्ता नगरेको आरोप लगाएकी छिन् । जनताले भोट हालेर जिताएका जनप्रतिनिधिले जनताकै समस्यामा आँखा चिम्लेर बसेको उनले दुखेसो पोखिन । राज्यको आँखा किसानको समस्यामा नपरेको समेत गुनासो गर्दै चौधरीले आफुहरुले जोखिम मोलेर किसानलाई मल उपलब्ध गराएको बताइन् ।
यी त उदाहरणका पात्र मात्र हुन मल चाहिएकै बेला देशैभरि मलको अभाव छ । सुदुरपश्चिम प्रदेशमा पनि माग अनुसारको मल आपूर्ति हुन नसक्दा किसानहरू मर्कामा परेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले आफुहरुसंग स्टकमा भएको मलहरु विक्री गरेको बताए ।
उनले कोरोना भाइरसले गर्दा भैरहवामा कडाइ गरेको हुँदा मल नआएर यहाँ उपलब्ध गराउन नसकिएको बताए । सुदुरपश्चिम् प्रदेशमा वार्षिक करिब ३५ हजार म्याट्रीक टन मल आवस्यक पर्ने भएपनी करिब २५ हजार म्याट्रीक टन मात्रै प्रदेशमा उपलब्ध भएको हुँदा किसानलाई माग अनुसार आपूर्ति गर्न नसकिएको नायब महाप्रबन्धक पाण्डेले बताए ।’
उनले भने, ‘हरेक वर्ष माग अनुसारको मल अभाव हुन्छ, यस पटक बन्दाबन्दीका कारण किसानहरुले माग गरे अनुसार मल दिन सकिएको छैन।’