वैकल्पिक सरकार नबन्ने देखेपछि मोडिए बाबुराम - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

वैकल्पिक सरकार नबन्ने देखेपछि मोडिए बाबुराम



काठमाडौं । वैकल्पिक सरकार नबन्ने देखेपछि पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मोडिएका छन् । उनले देशभित्रको संकटको समाधान गर्न ४ वुँदे नयाँ प्रस्ताव अगाडी सारेका छन् ।

संसदमा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी ओली पदमुक्त भएको र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्रवान गरेपनि सो अनुसारको समिकरण निर्माण हुने, नहुने अन्यौलता बढिरहेका बेला डा. भट्टराईले पूर्व प्रधानमन्त्रीहरु बाहेकका नेतृत्वमा राष्ट्रिय सरकार बनाउने नयाँ प्रस्ताव अगाडी सारेका छन् ।

डा. भट्टराईले बुधबार विहानै उनले सामाजिक सन्जाल ट्वीटर मार्फत त्यस्तो प्रस्ताव अगाडी सारेका हुन् ।

जसपाभित्रको एउटा पक्ष कांग्रेस, माओवादी गठवन्धनमा र अर्काे पक्ष केपी ओलीको पक्षमा खुलेर विभाजित भईरहेका बेला डा. भट्टराईले राष्ट्रिय संकट समाधानका लागि यसो गरौं भन्दै पूर्व प्रधानमन्त्रीहरु वाहेकको नेतृत्वमा सवै दल सहभागी रहने गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र आगामी १ वर्षमा चुनाव गराउने गरी नयाँ प्रस्ताव अगाडी सारेका हुन् ।

डा. भट्टराईको यस्तो प्रस्तावले कांगेस सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका बेला उनले देउवाको समेत विकल्प खोजी गरिरहेको संकेतका रुपमा बुझ्न सकिने राजनीतिक वृतमा चर्चा शुरु भएको छ ।

भट्टराई प्रधानमन्त्री ओलीको जसरी पनि विकल्प खोज्नुपर्ने पक्षमा छन् । उनले विपक्षी गठवन्धनले बहुमतको धार्नी पुराउन नसक्ने देखेपछि र फेरि पनि संविधानको धारा ७६(३) अनुसार ठूलो दलको हैसियतमा एमाले दलको तर्फबाट ओली नै प्रधानमन्त्री बन्ने देखेपछि त्यसलाई रोक्न नयाँ प्रस्ताव अगाडी सारेका हुन् ।

ओलीले व्यवस्थामाथि नै संकट पार्न सक्ने, संविधान धुजाधुजा पार्न सक्ने देखेपछि भट्टराईले अहिलेलाई ओलीलाई रोक्नकै लागि त्यस्तो प्रस्ताव गरेको उनी निकट नेताहरु बताउँछन् । तर डा. भट्टराईको यस्तो प्रस्तावमा राजनीतिक दलभित्र अहिलेसम्म कुनै खालको छलफल भएको छैन ।

२०७२ मा भूकम्प गएपछि दलहरुले सहमति निर्माण गरेर संविधान बनाएको स्मरण गर्दै अहिले पनि कोभिडको कहरमा जनताहरु जुटिरहेको र अहिलेको संसदको अंकगणितले राजनीतिलाई गन्जागोलमात्र बनाएकोले यसबाट पार लाउन र कोभिडमा सवै दल एकभएर जुट्न पनि भट्टराईले त्यस्तो प्रस्ताव ल्याएको उनी निकट नेताहरुको भनाई छ ।

भट्टराईले अगाडी सारेको ४ वुँदे प्रस्ताव यस्तो छ ।
पहिलोः धारा ७६ ९२० बमोजिम सबै दलको सहभागिता र वर्तमान र पूर्वप्रम बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं
दोस्रोः दलका प्रमुख र पूर्वप्रम रहेको निर्देशक समिति बनाउने
तेस्रोः साझा न्यूनतम कार्यक्रम र कोभिड नियन्त्रण, टीआरसी र मुद्दा, संविधान संशोधन, आर्थिक राहत इत्यादी लागु गर्नुपर्ने
चौथोः एक बर्षभित्र चुनाव गराउने ।