गोरखा पुगेर एमसीसीबारे बोले बाबुराम भट्टराई
गोरखा- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमति कायम गरी अनुमोदन गर्नु उपयुक्त हुने बताएका छन् । सोमबार गृहजिल्ला आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रियताका प्रश्नलाई गिजोल्न नहुने बताए । ‘एमसीसी सम्झौता राजनीतिक दलहरुबीच छिटो सहमति गरेर अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ,’ उनले भने ।
एमसीसीका विषय गिजोलिँदा जनस्तरसम्म भ्रम सिर्जना भएको र ठिक कि बेठिक भन्ने प्रश्नले पश्रय पाएको उनले बताए । एमसीसी परियोजना फिर्ता जाने खतरा पनि रहेको बताए । ‘एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग कुराकानी भयो, छिटो निर्णय गर्नुपर्यो नत्र फिर्ता गर्न बाध्य हुन्छौँ भन्ने उहाँको आशय थियो,’ उनले भने ।
नेपालमा भारत, चीन, अमेरिकाको त्रिपक्षीय चासो बढ्दै गएकाले तीनमध्ये एकलाई अनावश्यक ढंगले बिच्काउँदा प्रतिशोधपूर्ण हर्कत हुन सक्ने उनले बताए । ‘यस्तो कार्य देशको हितमा नहुन सक्छ, त्यो जोखिम किन लिने,’ उनले भने, ‘तीनवटै शक्तिराष्ट्रको अनुदान राष्ट्रिय हितका लागि लिने नीति नै उपयुक्त हुन्छ ।’ राजनीतिक दलभित्रको गुटगत राजनीतिका लागि राष्ट्रियताका प्रश्नलाई गिजोल्न नहुने उनले बताए ।
‘एमसीसी विशुद्ध प्रोजेक्ट वरिएन्टेड अनुदान सहयोग हो, यो थुप्रै देशसँग हुने गरेको छ,’ उनले भने,‘यो सबैभन्दा ठूलो सम्झौता भएको र देशमा भारत अमेरिका चीनको त्रिपक्षीय सामारिक द्वन्द्व मडारिँदो छ, यसलाई मध्यनजर गर्दै प्रोजेक्ट सम्झौता भए पनि संसद्बाट साधारण बहुमतले अनुमोदन गर्ने भनेर प्रावधान राखिन पुगेछ, सविधानतः यो आवश्यक थिएन, यहीँबाट गिजोलिन पुग्यो ।’
राष्ट्रिय सहमति जुटाउँदा सहज हुन्छ भन्ने कोणबाट संसद्बाट अनुमोदनको कुरा राखिएको उनले बताए । सरकारमा हुँदा एउटा कुरा सरकारबाट बाहिरिँदा अर्को कुरा गर्ने प्रवृत्ति र पुराना कम्युनिस्ट पार्टीको धङ्धङीले आन्तरिक पार्टीको संघर्ष प्रतिबिम्बित हुन पुगेको उनले बताए । ‘भारतसँग सहयोग लिँदा चीन र अमेरिकाले भित्रभित्र उकासिदिने, चीनको सहयोग लिन खोज्दा भारत र अमेरिका पक्षले उकास्ने, अमरिकासँग लिन खोज्दा चीन र भारत पक्षले उकासिदिने यो पनि जोडिन पुग्यो,’ उनले भने,‘ यो सबै कारणले गर्दा गिजोलिएर जनस्तरसम्म भ्रम पुग्नु बेठिक छ ।’
दल विभाजन सम्बन्धी अध्यादेशको टुंगो नलागेसम्म सरकारले पूर्णता पाउन जटिल भइरहेको पनि उनले बताए ।