सीमामा खटिएका सशस्त्रका सहायक निरीक्षकको ड्युटीमै रहस्यमय मृत्यु
काठमाडौं- सप्तरीस्थित नेपाल-भारत सीमामा खटिएका एक जना सशस्त्र प्रहरीको सोमबार रहस्यमय मृत्यु भएको छ। उनि सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सीमानाकामा ड्युटीमै थिए ।
सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ।
भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्याइएकाे थियो।
अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ । शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको बताइएको छ ।
उनको अचानक मृत्यु कसरी भयो भन्ने केहि नखुलेपनि उच्च रक्तचापका कारण अचानक बेहोस भई मृत्यु भएको अनुमान गरिएएको छ ।
शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने बताइएको छ ।