अझैपनि ओलीसँग वार्ता गर्ने आशामा माधव नेपाल - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

अझैपनि ओलीसँग वार्ता गर्ने आशामा माधव नेपाल



काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अझैपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग वार्ता गर्न खोजिरहेका छन् ।

ओलीले एकलौटी पेलेर अगाडी बढिरहेको र आफ्ना अनेकौँ आग्रहलाई लत्याइदिएको अवस्थामा पनि नेपालले भने वार्ता र संवाद गर्न चाहेको बताएका छन् ।

प्रेस संगठन नेपाल पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधानअनुसार छलफल गरे समस्याको समाधान निस्कने उनले बताएका हुन्।

उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुंग्याउन सकिने बताए । नेता नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरे ।

उनले विगतका तीता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वका कारण समस्या यथावत रहेको उनको आरोप छ ।

एकार्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालको जोड थियो । नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताए ।

उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता÷कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गरे ।