देश लुट्ने अग्रवालले गरेका थिए पीपीईको समेत कालोबजारी
काठमाडौं । थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रहरी हिरासतमा पुगेका व्यापारी सुलभ अग्रवालले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)मा समेत कालाबजारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनले विभिन्न समयमा ल्याएको पीपीईमा पनि कालाबजारी गरेर बिक्री गरेको तथ्य खुल्न आएको हो ।
चीनबाट ३ हजार रुपैयाँमा ल्याएको पीपीईलाई अग्रवालले १५ हजारदेखि २५ हजार रुपैयाँ लिएर कर्पोरेट हाउसहरूलाई बिक्री गरेको स्रोतको दाबी छ । नेपालमा आधिकारिक रूपमा आयात हुने ब्रान्डहरू खोस्ने विषयमा पनि अग्रवाल अग्रपंक्तिमा रहँदै आएका छन् ।
यसअघि पनि भ्याट छली, डेडिकेटेड फिडरलाइन लगायत प्रकरणमा जोडिएको शंकर ग्रुपले कानुनका छिद्रहरू प्रयोग गर्दै अनियमितता गर्दै आएको र अग्रवालको यस्तो धन्दा नयाँ नभएर पुरानै भएको उनलाई नजिकबाट चिन्नेहरूले बताउँदै आएका छन् ।
यसैगरी, अग्रवालको शंकर ग्रुपले काठमाडौंको नक्सालमा पाँच तारे होटल हिल्टन बनाउँदा पनि शक्तिकेन्द्रकै आडमा त्यहाँको पुरानो बाटोसमेत मासेर बनाएका थिए । स्थानीयको पटक–पटकको विरोधपछि बिग्रिएको बाटो सामान्य मात्र बनाएर छाडेको अहिले पनि देख्न सकिन्छ ।
‘वाणिज्यदूतको पदलाई व्यक्तिगत स्वार्थमा प्रयोग’
स्वास्थ्य सामग्री बिक्रीमा कालोबजारी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालले प्रहरी हिरासतबाट फुत्किन अनेक प्रयास गरिरहेका बेला अहिले उनलाई व्यापार नै नभएको मुलुक किर्गिस्तानको अवैतानिक वाणिज्यदूत बनाइयो भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
अग्रवालले सो मुलुकमा नेपालसँग व्यापार सम्बन्ध बढाउनेभन्दा पनि सो पदलाई भजाएर आफ्नो स्वार्थसिद्धि गर्ने गरेको पुष्टि भएको छ । अवैतानिक वाणिज्यदूत भएर नेपालमा कोरोना संकटको बेलामा समेत कालोधन्दा चलाएपछि उनले सो पदलाई आफ्नो व्यक्तिगत फाइदामा प्रयोग गरेको पुष्टि भएको हो ।
शक्तिको दुरुपयोग गर्दै नेपालसँग व्यापारिक सम्बन्ध नै नभएको किर्गिस्तानको अवैतानिक वाणिज्यदूत बनेर कोरोना जाँच्ने थर्मल गनको कालोबजारी, नक्कली भ्याटबिल र गुणस्तरहीन स्टिल उत्पादनदेखि बिजुलीको बिलसमेत नतिर्नेसम्मको कार्यमा लाग्दै आएपछि उनको सो पद खोसिएको छ ।
नेपालमा चालू आर्थिक वर्षको बितेका ८ महिना (चैत)सम्म कुल ९ अर्ब रुपैयाँको वस्तु आयात भएकामा अग्रवाल वाणिज्यदूत भएको किर्गिस्तानबाट सो अवधिमा जम्मा १२ हजार २ सय रुपैयाँको मात्र आयात भएको सरकारी तथ्यांकले देखाएको छ । गत आवमा भने किर्गिस्तानसँग नेपालको कुनै वैदेशिक व्यापार भएको छैन । यसैगरी, चालू आवको सोही अवधिमा नेपालबाट किर्गिस्तानतर्फ ११ हजार रुपैयाँको मात्र निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा नेपालबाट कुल ७० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।
सरकारले कुनै पनि व्यक्तिलाई अवैतानिक वाणिज्यदूत नियुक्त गर्ने भनेको सम्बन्धित देशसँग व्यापार व्यवसाय वृद्धि तथा देशमा वैदेशिक लगानी ल्याउनकै लागि हो । तर, अग्रवालले आफ्नो पदको दुरुपयोग गर्दै नीलो नम्बर प्लेटको गाडी प्रयोग गरी कालोबजारीमा संलग्न भएका थिए ।
जिम्मेवारीपूर्ण पदमा रहेका अग्रवाललाई कोरोना महामारीको समयमा समेत स्वास्थ्य सामग्रीमा कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेसँगै यसले नेपाली उद्योगी व्यवसायीको राज्यप्रतिको दायित्व र नीलो नम्बरप्लेटको गाडीमा झन्डा हल्लाएर हिँड्ने अन्य अवैतानिक वाणिज्यदूतको नियतमाथि नै प्रश्न सिर्जना गरिदिएको छ ।
कोरोना भाइरसको महामारीबाट मुक्त हुन भारतको स्टिल जायन्ट टाटा ग्रुपका संस्थापक रतन टाटाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारलाई ५ अर्ब भारु सहयोग गरेका दिए । अन्य राहत सामग्रीसमेतको हिसाब गर्दा टाटा समूहले भारत सरकारलाई करिब १५ अर्ब भारु बराबरको राहत सहयोग गरेको छ ।
तर, नेपालको स्टिल र सिमेन्ट उत्पादक जगदम्बा स्टिलका मालिक अग्रवालले भने कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना भएको सरकारी कोषमा एक रुपैयाँ पनि सहयोग गरेका छैनन् । सहयोग त के बरु उल्टै अत्यावश्यक वस्तु स्वास्थ्य सामग्री आपूर्तिमा सरकारलाई सहयोग गर्न लाग्नुपर्ने ठूलो औद्योगिक घराना शंकर ग्रुपका उपाध्यक्ष अग्रवाल उल्टै कालोबजारी गरेर नागरिकलाई ठग्न उद्दत देखिए ।
प्रहरी हिरासतमा रहेका अग्रवाल केही दिनअघि बिरामी भएको बहाना गरेर अस्पताल भर्ना हुन खोजे पनि डाक्टरले उनको सम्पूर्ण स्वास्थ्य अवस्था ठीक भएको रिपोर्ट दिएपछि उनलाई पुनः प्रहरी हिरासतमै राखिएको छ । राजधानी डेलीमा मधुजंग पाण्डेले लेखेका छन् ।