अब प्रधानमन्त्री ओली भाग्न मिल्दैन: प्रवक्ता श्रेष्ठ
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पहल कदमी लिनु पर्ने बताएका छन् ।
गोरखामा पत्रकारहरुसँग मंगलबार कुरागर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणपछिको पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत ओली नै भएकाले पार्टी वैठकबाट पन्छिन र भाग्न नमिल्ने बताएका छन् ।
पार्टीभित्रको विवादलाई वैठकका माध्यमबाट विवेकपूर्ण रुपमा समाधान खोज्नु पर्ने बताउँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले ओली वैठकमा आउनै पर्छ, आफ्ना कुरा स्पष्ट राख्नु पर्छ । अरुका कुरा पनि सुन्नु पर्छ ।’
प्रवक्ता श्रेष्ठले ओलीको राजीनामाका विषयमा औषचारिक रुपमा कुरा नउठेको स्पष्ट पारेका छन् । तर उनले पार्टी एकीकरण पूरा नभएको भन्दै यसलाई गुणात्मक परिवर्तन गर्ने गरी निष्कर्ष निकाल्नुर्ने बताएका छन् ।
‘पार्टी र सरकार दुवै राम्रोसँग चलाउन र सच्याउनका लागि प्रधानमन्त्रीको राजीनामाका विषयमा व्यक्तिगत विचारहरु प्रकट भएका छन्, तर पार्टीको औपचारिक प्रस्ताव भने होइन,’ उनले भने । यस बिषयमा पनि पार्टीको बैठकले निष्कर्ष निकाल्नु पर्ने उनको भनाइ छ ।
पार्टीको मार्गनिर्देशन अनुसार सरकार चल्ने र सरकारको दैनिक कामकाजमा पार्टी हस्तक्षेप गर्न नहुने समेत उनले बताएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारमा संविधान र कानून अनुसार हुने काममा भनसुन र घुस खुवाउनु नपर्ने अवस्थाको सिर्जना गराउनु पनि जरुरी रहेको उनको भनाइ छ । पहुँचको आधारमा भन्दा निष्ठावान र क्षमतावान व्यक्तिले जिम्मेवारी पाउनुपर्ने धारणा श्रेष्ठले व्यक्त गरेका छन् ।
पार्टीभित्रको अहिलेको अलमललाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने उनले बताए । पार्टीभित्रको अहिलेको विवादको निकासका लागि पार्टी र सरकार दुवैले कार्यशैलीमा सुधार गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए । पार्टी एकताको रक्षा गर्ने गरी यसलाई सुदृढ बनाउने गरी अघि बढ्नुपर्ने भन्दै उनले यसमा कसैले पनि यता–उता गर्न नमिल्ने बताए ।