आन्तरिक हवाई उडानको तयारी: सुरुमा आठ स्थानमा मात्रै उडान हुने
काठमाडौं- नेपालका आठ आन्तरिक गन्तव्यमा हवाई सेवा संचालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
आन्तरिकतर्फ कोरोना संक्रमण न्यून भएका एवं संक्रमण नभएका गन्तव्यमा उडान सेवा गर्नेगरी मन्त्रालयले तयारी गरेको बताइएको छ ।
भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिक उडान गर्नुपर्ने भएकाले मन्त्रालयले प्राथमिकताका साथ् आन्तरिक उडान गर्ने तयारी गरेको हो ।
सोहीअनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका रुपमा भए पनि केही निश्चित स्थानमा हवाई सेवा सञ्चालन गर्न दिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको वा नगरेको भन्ने विषयमा औपचारिक जानकारी भने गराइएको छैन ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरुमा हिमाली तथा पहाडी क्षेत्रमा आन्तरिक विमान सञ्चालन गर्न सकिने विषयमा छलफल भएको बताए ।
सरकारले निर्णय गरेमा नागरिक उड्डयन प्राधिकरण र निजी क्षेत्र पनि सञ्चालनको तयारी अवस्थामा रहेको उनले बताए ।
आन्तरिक उडानका लागि पनि नागरिक उड्डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ । मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो ।
तराईका क्षेत्रमा भने तत्काल हवाई सेवा सुरु गर्न नहुने निष्कर्षमा मन्त्रालय रहेको बताइएको छ ।