ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आन्तरिक गृहकार्य - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आन्तरिक गृहकार्य



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको विकप्ल्प खोज्ने निर्णय गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । यससँगै दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बनाएर २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको स्रोत बताउँछ । अविश्वासको प्रस्ताव ल्याउने भित्री रुपमा गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलासा गरिसकेका छन् । उनले शनिबार नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।

उनले भने,‘हामी प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेश गर्छौं, त्यसका लागि अहिले विपक्षीमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुबीच सहमति बनाउँछौं ।’ उनले सरकारको नेतृत्व काँग्रेसले गर्ने दाबी समेत गरे ।

काँग्रेस, माओवादी केन्द्र र जसपाबीच प्रधानमन्त्रीमा कस्को नाम प्रस्ताव गर्नेबारे सहमति बन्न सकेको छैन । यसमा सहमति बनेमा सम्भवतः भोलि नै अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । प्रधानमन्त्रीका नाममा सहमति बनाउने अन्तिम तयारी चलिरहेको छ । यसका लागि तीनवटै दलका नेताहरु सक्रिय छन् ।