संघ र प्रदेशका मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आजपनि ओली-प्रचण्ड छलफल हुँदै - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

संघ र प्रदेशका मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आजपनि ओली-प्रचण्ड छलफल हुँदै



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद समाधानका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ । दुई अध्यक्षबीचको आजको छलफलले विवाद समाधान गर्ने नेकपाका नेताहरुको विश्वास छ ।

हिजोको छलफलमा अध्यक्ष एबं प्रधानमन्त्री ओलीले दुबै पदबाट आफूलाई नहटाउन आग्रह गर्दै पार्टीको निर्णयअनुसार चल्ने, सरकारका निर्णयहरु सचिवालय बैठकबाट अनुमोदन गर्ने, संघीय र प्रादेशिक मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गर्ने र बैचारिक विवाद महाधिवेशनबाट समाधान गर्ने प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीले चैतमा महाधिवेशन गर्ने र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएर त्यसको जिम्मा प्रचण्डलाई दिने प्रस्ताव गरेको नेताहरुले बताएका छन् । जवाफमा प्रचण्डले दुवै तर्फबाट कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गरेका छन् ।

बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश ५ का आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।

भेलामा प्रचण्डले लामो समयपछि संवाद सुरु हुनु नै सकारात्मक भएको बताएका थिए । ओलीले राखेको प्रस्तावमा बाहिरबाट हेर्दा आफूहरुले हारेजस्तो देखिए पनि पार्टी फूट्नबाट जोगाउन संयमता अपनाउनु पर्ने उनको भनाइ थियो ।

अपमानित भएर पनि सहेर बसेको भन्दै प्रचण्डले पार्टी एकता, परिवर्तन र जनआकांक्षाका जोगाउन सहेर बसेको बताए ।