चार कक्षामा पढ्ने १३ वर्षीय बालकद्वारा एलकेजीमा पढ्ने ६ वर्षीय बालिका बलात्कृत ! - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

चार कक्षामा पढ्ने १३ वर्षीय बालकद्वारा एलकेजीमा पढ्ने ६ वर्षीय बालिका बलात्कृत !



रोल्पा । रोल्पामा बालकले बालिका बलात्कार गरेको खबर बाहिरीएको छ । एल केजीमा पढ्ने बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा चार कक्षामा पढ्ने बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले निण्न्त्रणमा लिएको छ । बालक १३ वर्षका छन् भने बालिका ६ वर्षकी ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर गएकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् ।

असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगेर घटनाका बारेमा अनुसन्धान गरी अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

बालिकालाई भने मेडिकलपश्चात् अभिभावकको जिम्मा लगाइएको छ । पीडित बालिका सदरमुकाम लिवाङकै एक निजी विद्यालयमा एल केजीमा र अभियुक्त बालक सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बालकलाई जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार १० दिन म्यादथप गरेको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार १० वर्षभन्दा मुनीका बालकले अपराध गरे कुनै सजायको व्यवस्था छैन । तर, १० देखि १४ वर्षसम्मको उमेरमा अपराध गरेको ठहर भएमा छ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ । चौधदेखि १६ वर्ष सम्मको उमेरमा अपराध गरेमा उमेर पुगेको अपराधीलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । यदि अदालतबाट यी अभियुक्त बालकलाई अपराध गरेको ठहर भई सजाय हुने भएमा अधिकतम छ महिनासम्म कैदको सजाय हुनेछ ।

तर, अभियुक्त बालकलाई कारागारमा थुनामा राख्न भने पाइँदैन । यसरी अपराधमा संलग्न बालकलाई बाल सुधार गृहमा राखी कैदको सजाय असुल गरिने प्रावधान रहेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक फुयाँलका अनुसार जिल्लामा बाल सुधार गृह नभएको हुँदा अपराधजन्य गतिविधिमा संलग्न भएका बालबालिकालाई नियन्त्रणमा लिई संरक्षण दिन समस्या हुने गरेको छ ।न्युज सेवाको सहयोगमा