बलात्कार र बोक्सी घटनाका पीडक र रमितेमाथि सिधै एक्सन चालियोस्:प्रचण्ड - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बलात्कार र बोक्सी घटनाका पीडक र रमितेमाथि सिधै एक्सन चालियोस्:प्रचण्ड



काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कैलालीमा बलात्कार र बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि तत्काल कडा कारवाही गर्न सरकार समक्ष माग गरेका छन् ।

व्यवस्थापिका सदनमा आज बोल्दै अध्यक्ष प्रचण्डले भाषण गरेर होइन, बेथिति र विसंगतिविरुद्ध सोझै एक्सनमा जान सरकारलाई आव्हान गरेका हुन ।

सत्ता साझेदार पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले नेपाली जनताले बेथिति, विसंगति, विकृतिका विरुद्ध सुसाशन र समृद्धिको पक्षमा मत दिएको बताउँदै सरकारबाट जनताले भाषण होइन,सोझै एक्सन चाहेकोमा जोड दिए । “अब यो भयो, त्यो भयो भनेर भन्ने समय होइन, जनताले भाषण धेरै होइन, सिधै परिणाम खोजेका छन् । ”

कैलालीमा बोक्सीको आरोपमा ११ कक्षामा अध्ययनरत किशोरीमाथि भएको घटना र ८ वर्षीय बालिकामाथि भएको बलात्कारको घटनामा सरकारले सिधै एक्सन लिन प्रचण्डले आग्रह गरे । “घटना भएपछि त्यस्तो भएको छ, उस्तो भएको छ भनेर काम छैन । दोषीमाथि कार्वाही गर्ने एक्सन चाहिएको छ । यो एक्सन गरेमात्र जनताको भरोसा सुदृढ भएर जान्छ ।” प्रचण्डले भने, “हामी सार्वभौमसत्ता नेपाली जनताको प्रतिनिधित्व गर्ने सभामा छौं । काम गर्नका लागि यो भन्दा बढी अधिकार केही चाहिन्न । जनताको त्यत्रो समर्थन छ, सरकारको हात बलियो छ । त्यसैले बलियो हातको साथले सुशासन शान्ति स्थिरत र समृद्धिको पक्षमा एक्सन गरोस् । जनताले त्यही खोजेका छन् ।”

महिलामाथि हिंसाको घटनामा महिला सांसदहरुले विशेष समय लिन खोजेको उल्लेख गर्दै प्रचण्डले सदनबाट भने, “बोक्सीको आरोपमा दिनदाहाडै कुटपीट गर्ने र रमिता हेर्नेमाथि कारवाही गरियोस्, ८ वर्षीय बालिका बलात्कार गर्नेमाथि कठोर कदम चालोस्, सबै बेथितिविरुद्ध के के गर्नुपर्छ तत्काल एक्सन चालियोस्”

देशमा राजनतिक स्थायित्व, सुशासन, स्थिरता विकासको आवश्यकता छ भन्ने कुरा गम्भीररुपमा महसुस गरेर गठबन्धन, घोषणापत्र, साझा उम्मेदवारमार्फत नेपाली जनतासँग विश्वासको मत मागेका थियौं । जनताले जनस्तरबाट नै अनुमोदन गर्ने अभिमत जाहेर गरिसकेको प्रचण्डले बताए ।

“अहिले सरकार गठनका सन्दर्भममा पनि वाम गठबन्धनको जिम्मेवारी सदस्यको हैसियतले मैले लिखितरुपमा राष्ट्रपतिलाई पत्र पठाएर सम्माननीय केपी ओलीलाई समर्थन छ भनेर दिइसकेको हुनाले अहिले संवैधानिक मान्यता अनुसार औपचारिक ढंगले यसलाई पारित गर्ने काम गरिरहेका छौं ।” उनले भने ।

जनताले ‘यो देशमा अब अराजकता होइन, बेथिती र विकृति होइन, विकासको नयाँ युग शुरु हुनुपर्छ भनेर हामीलाई भरोसा गरेर मत दिएको’ बताउँदै प्रचण्डले भने, “त्यसैले अब हामीले लच्छेदार भाषण र उपदेशद्वारा नभएर व्यवहारमा देखाउनुपर्छ । प्रधानमन्त्री ज्यू, तपाईले भ्रष्टाचार निर्मूलन गर्न कठोर कदम चाल्नुस्, यो देशमा बेथिति र विकृतिविरुद्ध बलियो आँटका साथ अघि बढ्नुस, राज्यका सबै अंगमा हुने ढिलासुस्ती, सबैखालका कुसंस्कृतिको अन्त्य गर्न दृढ कदम चाल्नुस ।”