काटिएको खुट्टालाई डाक्टरले सिरानी बनाईदिए
झाँसी (एजेन्सी)– भारतको उत्तर प्रदेशमा चिकित्सकहरूको चरम लापरबाहीका कारण एक बिरामीले आफ्नो काटिएको खुट्टालाई सिरानी बनाउन बाध्य भएका छन्।
यो घटनापछि उत्तर प्रदेशका शिक्षा मन्त्री आसुन्तोष टन्डनले झाँसीस्थित मेडिकल कलेजका अर्थोपेडिक्स चिकित्सक आलोक अग्रवालसहित इएमओ डा महेन्द्र पाल सिंह, नर्सिङ इन्चार्ज दीपा नारङ तथा शशी श्रीवास्तवलाई तत्काल निलम्बन गरेका छन्।
घटना गत शुक्रबार मात्र सार्वजनिक भएको थियो। जब झाँसीकी महारानी लक्ष्मीबाई मेडिकल कलेजमा उपचार गराउन पुगेका एक युवकप्रति चिकित्सक तथा नर्सहरूले सामान्य सहानभूती पनि देखाएनन्।
सडक दुर्घटनामा घाइते भएका एक युवकलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले घाइते व्यक्तिको गम्भीरता हेरेर उनको बायाँ खुट्टा काटेका थिए। तर, उनीहरूले काटिएको त्यही खुट्टालाई बिरामीका लागि टाउको उठाउन सिरानी बनाएका थिए।
सरकारी प्रवक्ताले यो घटनाको पूर्ण जाँच हुने र दोषीमाथि कडा कारबाही गरिने जानकारी दिए।
अस्पतालमा उपस्थित अन्य व्यक्ति यो घटनाबाट उद्देलित भएको बताइएको छ। घाइते व्यक्तिका बहिनी ज्वाइँ जानकी प्रसाद अस्पताल पुग्दा यो दृश्य देखेर स्तब्ध भएको बताए।
उनले चिकित्सकलाई धेरै पटक आफूले टाउकोबाट काटिएको खुट्टा हटाउन आग्रह गरेको बताए। तर, चिकित्सकहरूले आफ्नो आग्रह अस्विकार नगरेको उनको भनाई छ।
‘करिब दुई घन्टासम्म खुट्टा टाउकोमा राखियो। हामीले सिरानी दिएपछि मात्र उनीहरूले खुट्टा निकालेका थिए’, उनले भने।
मेडिकल कलेजका प्रधानाध्यापक साधना कौशिशले यस विषयमा स्पष्टीकरण दिँदै भनिन्, ‘बिरामीको खुट्टा काटिएको थियो र उनको अवस्था निकै गम्भीर थियो। चिकित्सकहरू तुरुन्त उनको उपचारमा लागे। हामीले यो घटनाको जाँचबुझका लागि एउटा कमिटी गठन गरेका छौं। कुनै कर्मचारी दोषी पाइएको खण्डमा कारबाही हुनेछ।’