मातृका यादवले फेरी थर्काए कर्मचारी
फागुन–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले भ्रष्टाचार भनेको कुनै पनि अवस्थामा सहन नसकिने बताएका छन् । आफ्नो मन्त्रालय मातहतका कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए ‘अन् द स्पट’ कारबाही गर्ने चेतावनी उनको छ ।
काभ्रे महोत्सव–२०७४ को बुधबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री यादवले भ्रष्टाचार गर्नेलाई नछाड्ने उल्लेख गरे ।
‘मेरो मन्त्रालय मातहत कोही पनि कर्मचारीले भ्रष्टाचार गरेको पाएमा ‘अन द स्पट’ कारबाही गर्छु’, यादवले भने । मन्त्री यादवले कर्मचारीलाई घूस नदिन सेवाग्राहीलाई आग्रह गर्दै यदि कसैले घूस खुवाएको थाहा पाएमा उसलाई पनि नछाड्ने चेतावनी दिए । तत्कालिन वनमन्त्री यादवले जिल्ला विकास समिति ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालय बोलाएर शौचालयमा थुनेको घटनाको अहिले पनि कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ ।
‘दीर्घकालीन विकास, सुसाशन र अग्रगमनको आधार आर्थिक समृद्धिको बहार’ भन्ने मूल नारा साथ आयोजना गरिएको महोत्सव आगामी ३ चैतसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टल राखिएको छ ।