कलाकार राजेन्द्र खड्गी जेल चलान - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

कलाकार राजेन्द्र खड्गी जेल चलान



काठमाडौं– कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन्। मानवबेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। सो घटनामा मुछिएका कोरियनसहित २ जना पक्राउ परेका छन्।

फिल्मको सुटिङका लागि भनेर दूतावासबाट भिसा लिएर दक्षिण कोरिया गएका युवाहरु उतै बेपत्ता भएपछि काठमाडौंस्थित दक्षिण कोरियन दूतावासले प्रहरीमा जाहेरी दिएको थियो। सोही आधारमा सिआइबीले खड्गीलाई माघ २५ गते पक्राउ गरी मुद्दा दायर गरिएको थियो।

खड्गीले कोरिया गएका युवाहरु नफर्किए आफू जिम्मेवार हुने भन्दै दूतावासमा कागज गरेका थिए। सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो।

सिआइबी स्रोतका अनुसार खड्गीले एक नेपाली र एक कोरियन नागरिकको नाम लिएका छन्। हाल दक्षिण कोरियामै रहेका खड्गीका साथी नेत्रबहादुर रानाले मानवतस्करीमा सघाएका थिए। उनी लगायत कोरियनलाई पक्राउ गर्न सिआइबीले इन्टरपोलमार्फत कोरियन प्रहरीसँग अनुरोध गरेको हो। राना र कोरियनलाई पनि प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ।

सो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले दक्षिण कोरियाको प्रहरीसँग पनि सहकार्य गरिरहेको छ। इन्टरपोलमार्फत राना र कोरियनलाई पक्राउ गर्न पहल भइरहेको सिआईबीका एक अधिकारीले बताए।