हुलाक टिकटमा पनि राजनीति
कान्तिपुर/काठमाडौं । हुलाक टिकटमा राजनीति हुने गरेको खुलेको छ। दुई वर्षअघि तत्कालीन सञ्चारमन्त्री शेरधन राईको सिफारिसमा ‘हुलाक टिकट छाप्नैपर्ने’ सूचीमा पूर्वी नेपालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाम समावेश गरियो । तालुकदार मन्त्रीको सिफारिसमाथि हुलाकका कसैले खोजीनीति गरेन । सिफारिसअनुरूप ‘सहिद रामकुमार राई’ का नाममा १० रुपैयाँ मूल्यका १० लाख हुलाक टिकट छाप्ने निर्णय भयो ।
कला अधिकृत पूर्णकला लिम्बूले छोटो अवधिमै टिकट–डिजाइन गरिन् । इन्डोनेसियाको सेक्युरिटी–प्रेसमा टिकट छाप्न सुरु भयो । करिब १ लाख ८० हजार प्रति टिकट छापिएपछि मात्रै थाहा भयो– रामप्रसाद राईलाई सरकारले सहिद घोषणा गरेकै रहेनछ । ‘त्यसपछि बाँकी टिकट छपाइको काम तुरुन्तै रोकिहाल्यौं,’ केन्द्रीय टिकट भण्डारका व्यवस्थापक नारायणप्रसाद पौड्यालले भने ।
हाल प्रदेश १ का मुख्यमन्त्री तत्कालीन सञ्चारमन्त्री राईको प्रस्तावमा योद्धा राईको टिकट त छापियो, तर टाँचालाग्न सकेन । त्यो टिकट अहिले गोश्वारा हुलाकको भण्डारमा थन्क्याएर राखिएको छ । उसो तयिनै विद्रोही नेता राईको २०५५ सालमा पनि टिकट छापिएको थियो, ७५ पैसा मूल्यको ।
टिकट भण्डारका व्यवस्थापक पौड्यालका अनुसार झन्डै २० लाखप्रति हवाई पत्र पनि भण्डारका बाकसमा तालाबन्द गरेर राखिएको अवस्थामा छन् । ‘१० रुपैयाँ मूल्यका हवाईपत्र ६ लाख, ५० पैसा मूल्यका १० लाख, ७५ पैसाका ५ लाखजति हवाई पत्र तालाबन्द गरेर राखिएको छ,’पौड्याल भन्छन्, ‘सरकारी नियममा राजस्व दाखिला हुनुपर्ने उत्पादनलाई लिलाम गर्न पनि मिल्दैन, धुल्याउन पनि मिल्दैन ।’