एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचना यस्तो हुने ! - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचना यस्तो हुने !



नयाँ पत्रिका/काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन्। संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन्।

एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए। १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या थपेर ३ सय ५० सदस्य पुर्‍याउने तर्कमाथि छलफल भइरहेको उनले बताए। २ सय ६ लाई ६० प्रतिशत मान्दा माओवादीका तर्फबाट १३७ जना नेता केन्द्रीय कमिटीमा थपिन सक्छन्।

दुवै पार्टीका अध्यक्ष सुरुमा एकीकृत पार्टीको कमिटीको संख्या दुई अंकको राख्न सकारात्मक थिए। तर, माओवादीको स्थायी समिति सदस्यको संख्या नै ८३ सदस्यीय भएकाले त्यस्तो संरचना सम्भव नभएको निष्कर्षमा दुवै पार्टीका नेता पुगेका छन्। जबकि एमालेको स्थायी समिति पदेन–१, आमन्त्रित–३ सहित २६ सदस्यीय मात्र छ भने पोलिटब्युरो ६६ सदस्यीय छ। एकीकृत पार्टीको नेतृत्वमा दुवै शीर्ष नेता सहअध्यक्ष रहने सहमति ओली र प्रचण्डबीच भइसकेको छ।

उनीहरूले पालैपालो बैठकको अध्यक्षता गर्नेछन्। शीर्ष नेताहरूको सुझाबका आधारमा पदाधिकारी नराख्ने गरी संगठनसम्बन्धी कार्यदलले एकीकृत पार्टीको सांगठनिक ढाँचाको गृहकार्य गरिरहेको छ। तर, त्यसलाई मस्यौदाकै रूपमा ठोस रूप नदिइएको नेताहरू बताउँछन्। वरिष्ठ नेताको पद राख्ने–नराख्ने, मर्यादाक्रम कसरी तय गर्ने भन्नेबारे अनौपचारिक छलफल निष्कर्षमा पुगिनसकेको एक नेताले बताए।