सरकारी विद्यालयलाई निजी विद्यालयहरुले चुनौती दिईरहेका छन् : शर्मा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

सरकारी विद्यालयलाई निजी विद्यालयहरुले चुनौती दिईरहेका छन् : शर्मा



लोकेन्द्र रावल/टीकापुर

पूर्व गृह तथा ऊर्जा मन्त्री जर्नादन शर्माले सरकारी विद्यालयलाई निजी विद्यालयहरुले चुनौती दिइरहेको बताउनु भएको छ । टीकापुरस्थित यूनाईटेड एकेडेमीको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले सरकारी विद्यालयहरूले निजी विद्यालयबाट व्यवस्थापकीय कला र पठनपाठनलाई राम्रो बनाउन पाठ सिक्न जरुरी रहेको बताउनु भयो ।‘स्थानीय स्तरमा सरकार गठन भईसकेकाले अव राज्य कहाँ छ भन्ने खोज्न पर्दैन,’ शर्माले भन्नुभयो ,‘ शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकारले नीति नियम बनाएर लागु गर्नुपर्छ ।’
माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री शर्माले आफूले सुसंस्कृत समाज निर्माणका लागि सङ्कल्प गरेको बताउँदै राजनीति व्यक्तिगत स्वार्थका लागि नभई देशको स्वार्थका लागि हुनु पर्ने बताउनु भयो ।

‘ यसभन्दा अगाडीका सरकारले गराएको अनुभूति जस्तो टीकापुरवासीलाई अबको सरकारले अनुभूति गराउने छैन ,’ टीकापुरबासीलाई आश्वस्त पार्दै भन्नुभयो ,‘ टीकापुरमा तितो घटना घटेको छ , अबका दिनहरूमा अधिकार प्राप्तिका लागि कुनै आन्दोलन गर्नु पर्दैन । यहाँको विकासका लागि म पनि टीकापुरवासी सँगै छु ।’कार्यक्रममा बोल्दै प्रदेश सांसद उमादेवि अव भाषण नभई काम गर्ने वेला आएको बताउँदै प्रदेश सरकारको पहिलो आँखा शिक्षामा जानु पर्ने बताउनु भयो ।टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुर नगरपालिकाले चाडै शिक्षा नियमावली बनाउन लागेको जानकारी दिँदै त्यसको कार्यान्वयनको सुझावको अपेक्षा गरेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाकी उपमेयर केशरी विष्ट, टीकापुर १ का वडाध्यक्ष गंगाराम आचार्य, टीकापुर नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, प्याव्सनका कैलाली अध्यक्ष डिल्लीराज रेग्मी, समाजसेवी लालविर चौधरी, विरेन्द्र विद्यामन्दिरका प्राचार्य यज्ञराज ज्ञवाली, अभिभावक चेतमान खत्री , विद्यार्थी पूर्णिमा देवकोटा लगायतले बोल्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समिति सदस्य टीकाराम जैशीले स्वागत गर्नु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परमेश्वर साहुले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, नृत्य तथा नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा विभिन्न क्रियाकलाप र कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

भौतिक सुविधा र शैक्षिक गुर्णस्तरका बारेमा यस विद्यालयले लगानी गर्न थालेपछि अन्य विद्यालयले पनि पछिल्लो समय भौतिक सुविधामा ध्यान दिन थालेका छन् ।