विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी
नयाँ पत्रिका /काठमाडौँ । प्रहरीले नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दलाई पक्राउ गर्न पुर्जी काटेको हो । प्रहरीले चन्दलाई पक्रन कपिलवस्तु शिवराज नगरपालिका–९ स्थित निवासमा मंगलबार पक्राउ पुर्जी टाँसेको छ ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले चन्दलाई पक्राउ गर्न पुर्जी काटिएको बताए । उनले भने, ‘चन्दलाई पक्राउ गर्न पुर्जी काटिएको छ । पुर्जी उनकै निवासमा टाँसिएको छ । उनलाई सात दिनभित्र पक्राउ गर्नुपर्ने कानुनी बाध्यता छ । प्रहरी उनको खोजीमा लागेको छ । अब हामी पक्राउ गर्छौं ।’
जिल्ला अदालत भोजपुरले सात दिनभित्र पक्राउ गर्न आदेश दिएपछि प्रहरीले चन्दविरुद्ध पक्राउ पुर्जी काटेको हो । अदालतमा चन्दविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटको मुद्दा दायर भएको छ । सोही मुद्दामा संलग्न भएको पाइएपछि बयानका लागि भन्दै जिल्ला अदालत भोजपुरले चन्दलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कापिलवस्तुलाई बाटोको म्यादबाहेक सात दिनभित्र पक्राउ गर्न आदेश गरेको हो ।
यस्तो छ अभियोग
चन्दविरुद्ध २८ कात्तिक र २ मंसिरमा भोजपुरका विभिन्न स्थानमा गराइएको बम विस्फोटको मुख्य योजनाकार भएको अभियोग छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै २० भन्दा धेरैलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरू चन्दका कार्यकर्ता रहेको पुष्टि भएको र अधिकांशले विस्फोट चन्दकै योजनाअनुसार गराएको बयान दिएपछि प्रहरीले चन्दलाई मुख्य अभियुक्त करार गरेको थियो तर पक्राउ भने गर्न सकेको थिएन ।
अनुसन्धानपछि प्रहरीले चन्दविरुद्ध ज्यान मार्ने उद्योग तथा विस्फोटको अभियोग लगाई जिल्ला अदालत भोजपुरमा फाइल पेस गरेको थियो । अदालतले अहिले सोही अभियोगमा चन्दलाई सात दिनभित्र पक्राउ गर्न आदेश दिएको छ ।