रेडक्रसको २२ औं अधिबेशन सम्पन्न, ७ सय ७४ पिण्ट रगत संकलन
लोकेन्द्र रावल/टीकापुर
नेपाल रेडक्रस सोसाइटी टीकापुर उप शाखाको २२ औ. अधिबेशन बिहीबार टीकापुर भएको छ । अधिबेशनमा प्रमुख अतिथी रहनु भएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा कैलालीका सभापति उत्तम जोशीले मानवतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा रेडक्रसले सेवा दिदै आएको बताउनुभयो ।
उहाँले मानव सेवामा लागेकै कारण बिश्वभर रेडक्रसको महत्व बढ्दै गएको बताउनुभयो ।‘ रेडक्रसले राम्रो काम गरेको भएपनि स्थानीय तहमा बैधानीक उपस्थिती छैन,’जोशीले भन्नुभयो ,‘अब रेडक्रस पनि प्रदेशको संरचनामा जानुपर्छ । ’ रेडक्रसलाई हाक्न चुनौती भएको भन्दै जोशीले सक्षम नेतृत्व नआए संस्था नै निस्कृय हुने अवस्था छ भन्नुभयो ।
केन्द्रिय सदस्य हेमराज ओझाले टीकापुर उपशाखा देशभरमै उत्तम शाखाको रुपमा चिनिएको छ भन्नु भयो ।‘ जिल्लाले दिन नसकेको रक्त सेवा कार्यक्रम टीकापुर उपशाखाले दिएको छ ,’ओझाले भन्नुभयो , ‘दाताले दिएको सहयोग सदुपयोग भए थप सहयोगको अभाव हुदैन भन्ने कुरा टीकापुर उपशाखाले प्रमाणित गरेको छ ।’
जिल्ला सदस्य बलबहादुर रावलले बाढी आएकाबेला टीकापुर उपशाखाले राम्रो काम गरेको बताउनु भयो । उहाँले टीकापुरको रक्त संचार केन्द्रलाई जिल्ला स्तरको साधन स्रोत भएको रक्तसंचार केन्द्र बनाउन पहल गर्नुपर्ने सुझाव दिनुभयो । उपशाखाका अध्यक्ष जगदिश्वर पण्डितको सभापतित्वमा भएको उक्त अधिबेशनमा सचिब धर्मराज शर्माले संस्थाको प्रगति र कोषाध्यक्ष दत्त बहादुर बिष्टले आर्थिक प्रगति पेश गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष कल्याण प्रशाद दहालले गर्नुभएको थियो । चार पटक रक्तदान गरेको भन्दै लोकश साउँद र संस्थागत रुपमा ५० पिण्ट रगत दान गरेको भन्दै स्वयमसेबी रक्त दाता समाज तथा एनबिआर कैलालीलाई नगद २५ सय रुपैया सहित सम्मान गरिएको छ । यो धनराशिको पुरस्कार अमेरिकामा बस्ने जंग वहादुर वमले आफ्नो भाइ स्व. ठक्कर वमको सम्झनामा प्रदान गर्नभएको हो ।
उपशाखाबाट संचालित रक्त सेवा केन्द्रले एक बर्षमा ७ सय ७४ पिण्ट रगत संकलन गरेको छ भने ७१७ पिण्ट रगत आपुर्ती गरेको रक्त संचार केन्द्र संयोजक टेकराज बिनाडीले जानकारी गराउनुभयो । ‘रगतको माग बढ्दै गएको छ ।
रगत आपुर्तीमा समस्या छ , अझै पनि रगत दान बारे धेरै मान्छेले बुझेका छैनन् ,’ संयोजक बिनाडीले भन्नुभयो ,‘ अब केही समयमा रक्त संचार केन्द्र व्यबस्थित हुन्छ ।’