माआवादी केन्द्रको कार्यालय बैठक सम्पन्न:मन्त्री छान्ने जिम्मा प्रचण्डलाई
काठमाडौं, नेकपा माआवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह ४ बजेदेखि चलेको बैठक साँझ साढे ८ बजेसम्म चलेको थियो ।
आजको बैठकले नेकपा एमालेसँग पार्टी एकताका लागि भएको सा बुँदे समझदारीका बारेमा छलफल गरेको थियो ।
बैठकमा सहभागी कार्यालय सदस्य नेताहरुले एकता प्रक्रियासँग सम्बन्धित सहमति र गृहकार्यका बारेमा जिज्ञासा राखेको प्रवक्ता पम्फा भुसालले बताइन ।
त्यसैगरी बैठकमा सरकारको स्वरुप र त्यसमा पार्टीका तर्फबाट पठाइने मन्त्रीहरुका बारेमा समेत छलफल गरेको थियो ।
‘समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर कसलाई पठाउने भन्ने निधो हुन्छ ।” प्रवक्ता भुसालले भन्नुभयो, “आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन । मन्त्रालय १८ बनाउने भन्ने कुरा भएपनि कुन कुन मन्त्रालय भन्ने बारेमा अझै अन्तिम निर्णय नभएकोले आज त्यसबारेमा निर्णय भएन । अध्यक्षले यसबारेमा आवश्यक निर्णय लिनुहुन्छ ।”
माओवादी केन्द्रको आजको बैठकमा दिउँसो सम्पन्न कार्यदलको बैठकको प्रगतिबारेमा समेत छलफल भएको थियो ।
माओवादीले १८ मन्त्रालयमध्ये ७ मन्त्रालय पाउने चर्चा यसअघि नै चलेको थियो । सात मन्त्रालय पाएको खण्डमा महिला, समावेशी समानुपातिक, क्षेत्र, पार्टीभित्रका अन्य बिभिन्न पक्षहरुलाई समेत विचार गरेर ७ जना मन्त्री छनौट गर्ने विषयमा आज छलफल भएको थियो ।