रुपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन हामी लुम्बिनी आएका हौं :डा. भट्टराई
कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको भन्दै आफूहरु लुम्बिनी आएको बताएका छन् ।
नयाँ शक्ति पार्टी, नेपालको चौथो विस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ संकल्पसहित कार्यक्षेत्रमा फर्कने बताए । “विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । हामी विश्वलाई नयाँ विचार दिन लुम्बिनी आएको हौं, जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो,”उनले भने, “अहिले विश्नै वैचारिक संकटबाट गुज्रिरहेको छ, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं ।”
संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट ग्रुज्रिरहेकोले वुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्नेमा जोड दिए । “भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ । चीनमा पनि वैचारिक संकट छ । अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्, संयोजक भट्टराईले भने, “हामीले फेरि एउटा आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।”
संयोजक भट्टराईले नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा नहुने समेत बताए । “नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा हुँदैन, थुप्रै घातप्रतिघात र असफलताको श्रृंखलाबाट जन्मन्छ । गौतम वुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन, “भट्टराईले भने ।
संयोजक भट्टराईले नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको जिकिर पनि गरे । “राजनीति बिग्रिएको छ, फोहोर र भ्रष्टाचारबाट व्याप्त छ, “उनले भने, “हिजोका क्रान्तिकारीहरु पनि भ्रष्टाचारले रंगिएका छन् । यसर्थ, हामीले रुपान्तरणको लागि नयाँ राजनीति सुरु गरेका हौं । रुपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन हामी लुम्बिनी आएका हौं । विचार भनेको कम्पास हो, यसले बाटो देखाउँछ । हामी यही सही विचार प्राप्त गर्दै बुझाईमा एकरुपमा कायम गर्न लुम्बिनी आएका छौं ।”
पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको बताउँदै पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक शक्ति तेस्रो ध्रुवको रुपमा उदाउने निश्चित भएको दावी गरे । “शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरुको आकार जतिसुकै ठूला भए पनि उनीहरुभित्र रोग र विकृति छ, “भट्टराईले अगाडि भने, “उहाँहरु उहाँकै रोगले सकिनुहुन्छ, यसकारण उहाँहरुबाट समृद्धि सम्भव छैन ।”