लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई सुनौली नाकामा हैरानी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई सुनौली नाकामा हैरानी



काठमाडौं। भारतको बाटो भएर लुम्बिनी घुम्न आउने पर्यटकहरुले सुनौली नाकामा हैरानी खेप्नु परिरहेको भारतीय पर्यटन व्यवसायीहरुले बताएका छन ।

सुनौली नाका भएर नेपाल भित्रिने सयौं मालवाहक गाडी रोकिदा हुने ट्राफिक जामका कारण पर्यटकहरुलाई आवागमनमा समस्या पर्ने गरेको उनीहरुले बताएका छन् ।

सुदुरपश्चिमका गन्तव्य प्रर्वद्धन गर्नका लागी नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड एजेन्ट (नाटा) ले भारतको राजधानी दिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्ने धेरै जसो भारतीय पर्यटन व्यवसायीहरुले भारत स्थित नेपाली दुतावास र नेपाल पर्यटन बोर्डका अधिकारी समक्ष यस्तो बताएका हुन्।

‘कहिलेकाही ८/१० घण्टा सम्म पनि जाममा बस्नु पर्ने हुन्छ’ बौद्ध धर्म सम्बन्धी यात्राको व्यवस्थापन गर्ने अन्र्तराष्ट्रिय संस्था एसोसिएसन अफ बुद्धीस्ट टुर अपरेटर्सका महासचिव डाक्टर कैलास कुमारले भने, ‘दैनिक ५/६ सयको संख्यामा भारतको बाटो भएर लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुले सास्ती व्यर्हाेनु परिरहेको छ, यसले गर्दा पर्यटन बजारमा नराम्रो सन्देश गैरहेको छ।’

विशेष गरी भारत, श्रीलंका, थाइल्याण्ड, मलेसिया, युरोप, अमेरीका लगायत देशका पर्यटकहरु भारतीय पर्यटन एजेन्सी मार्फत लुम्बिनी घुम्न आउने गर्छन्।

भारतको बाटो हुदै लुम्बिनी पुगेर तथा फर्कने पर्यटकहरुको संख्या बार्षिक दुई लाखको हाराहारीमा रहेको छ। यो संख्या बढ्दै जान थालेको भए पनि नाकामा हुने समस्याका कारण एक पटक हैरानी खेपेका पर्यटक अर्काे पटक नफर्कने गरेको भारतीय पर्यटन व्यवसायीको अनुभव छ। आजको कान्तिपुरमा खबर छ ।