आफ्नै प्रेमिकाको हत्या गरी कालीगण्डकी नदीमा फाल्ने युवक पक्राउ - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

आफ्नै प्रेमिकाको हत्या गरी कालीगण्डकी नदीमा फाल्ने युवक पक्राउ



फलेवास, पर्वत- आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक पक्राउ परेका छन्।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले गत माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए। तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो।

माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन्। पराजुलीले कमलालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साबिती बयान दिएका थिए। उनले कमलासँग आफूले शारीरिक सम्बन्ध राखेको र गर्भ रहेको थाहा पाएपछि हत्या गरेको बताएका छन्।

पराजुलीलाई पर्वत प्रहरीको हिरासतमा राखी बयान तथा अन्य थप अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलीप घिमिरेले जानकारी दिए।रासस