भारतीय सीमा क्षेत्रमा बढ्दै गएको भूमि अतिक्रमण विरुद्ध वाइसिएलले खबरदारी गर्ने - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भारतीय सीमा क्षेत्रमा बढ्दै गएको भूमि अतिक्रमण विरुद्ध वाइसिएलले खबरदारी गर्ने



राजविराज– माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) सप्तरीले भारतीय सीमा क्षेत्रमा बढ्दै गएको भूमि अतिक्रमण विरुद्ध खबरदारी गर्ने निर्णय गरेको छ।

जिल्ला संयोजक विनोदकुमार यादवको अध्यक्षतामा शुक्रबार राजविराजमा बसेको बैठकले सीमाक्षेत्रको स्थलगत अनुगमन तथा आवश्यक कागजातको अध्ययन गरी भूमि अतिक्रमण विरुद्ध खबरदारी गर्ने निर्णय गरेको हो।

देशका विभिन्न क्षेत्रमा सीमा अतिक्रमणका समाचारहरु आउन थालेपछि सप्तरीमा त्यस्ता गतिविधि हुन नदिन र भएको भए तत्काल सच्याउनेतर्फ पहल गर्न यस्तो निर्णय गरिएको संयोजक यादवले बताए।

बैठकले गैरकानुनी रुपमा चुरे पहाड तथा नदीनाला उत्खनन बढेको निष्कर्ष निकाल्दै प्राकृतिक सम्पदाको दोहन रोक्न संघर्ष गर्ने पन निर्णय गरेको छ। अप्राकृतिक रुपमा वन तथा नदीजन्य पैदावार उत्खननले बाढी–पहिरोको खतरा बढेको बैठकको निष्कर्ष छ।

यस्तै, जिल्लामा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, घुसखोरी, कालोबजारीको अवस्था अध्ययन गरी त्यस विरुद्ध संगठित रुपमा प्रहार गर्ने तथा संलग्न व्यक्तिहरुको पर्दाफास गर्ने निर्णय पनि भएको बैठकमा सहभागी वाइसिएलका केन्द्रीय सदस्य एजेट न्यासुर (लामा)ले जानकारी दिए।

माओवादी केन्द्रका स्थायी समिति सदस्य उमेश यादव, वाइसिएल नेपाल २ नम्बर प्रदेश कार्यालय सदस्य तथा सप्तरी इन्चार्ज शिवकुमार रामको समेत उपस्थिति रहेको बैठकले २३औं जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ।