देउवाले भने: एक इन्च पनि नेपाली भूमी भारतलाई दिन्न - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

देउवाले भने: एक इन्च पनि नेपाली भूमी भारतलाई दिन्न



काठमाडौं

वाम घटक दुई विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भूमि मिचेर भारतीय पक्षले सीमा स्तम्भ गाडेको घटनाबारे स्थलगत अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटेर अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका नेताहरुले नेपाली भूमि मिचिएको विषयमा ध्यानाकर्षण गराउँदै सुझावसहितको प्रतिवेदन बुझाएका हुन्।

विद्यार्थी संगठनले सीमांकनको आधारमा बनेको सीमा नक्सालाई पुनरावलोकन गरेर मुख्य पिलर, ऐतिहासिक मान्यता र स्थानीयले भोगचलन गर्दै आएको प्रमाणलाई आधार बनाउन सरकारलाई सुझाव दिएका छन्।

सरकारलाई बुझाइएको १० बुँदे सुझावपत्रमा कालापानी र सुस्ता बाहेक सबैतिर सीमा विवाद सुल्झिएको सरकारी दाबी आधारहीन भएकाले सीमा विवादको समग्र समाधान खोज्न आग्रह गरिएको छ।

सीमामा बनेका साना–ठूला ५७ वटा तटबन्धन अविलम्ब व्यवस्थित गर्न माग गर्दै विद्यार्थी संगठनले भारतीय पक्षले अतिक्रमण गरी बनाएका सबै संरचना भत्काएर दसगजा सुरक्षित गर्न सुझाव दिइएको छ।

सुझावको ९ नम्बर बुँदामा भनिएको छ, ‘सीमा समस्याको दीर्घकालीन समाधानका लागि सिमानामा काँडेतार लगाउन आवश्यक छ।’

विद्यार्थी संगठनहरुले स्थलगत निरीक्षणका क्रममा सीमा अतिक्रमणका विभिन्न घटना र तथ्य प्रस्तुत गर्दै सरकार गम्भीर बन्नुपर्ने बताएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

स्थलगत अध्ययन रिपोर्ट बुझ्दै प्रधानमन्त्री देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने आश्वासन दिएका थिए।