एमसीसीमा यसरी असफल हुँदैछन् देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्न सफल भएपपनि उनका पछिल्ला कदमहरू भने असफल हुने सम्भावना बढेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिबाटै एमसीसी अनुमोदन गराउन लगातार प्रयास गरिरहेका छन् ।
एकातिर एमसीसीको विपक्षमा रहेका सत्ता गठबन्धनका दलहरूलाई एकाएक दबाब बढाउँदै लगेका छन भने अर्कातिर प्रतिपक्षी एमालेसँग फकाउन निरन्तर लागिरहेका छन् ।
देउवाले यता कांग्रेस महामन्त्री गगन थापालाई सार्वजनिक अभिव्यक्ति दिन लगाएका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत गठबन्धनमा आबद्ध दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका अध्यक्षलाई सोमबार आफ्नो सन्देश पठाएका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत देउवाले सत्ता गठबन्धनका दलले एमसीसीमा सहयोग नगरेको अवस्थामा गठबन्धन टुट्ने सन्देश दिएका थिए । एमसीसीकै कारण सत्ता गठबन्धन संकटमा पर्न लागेकाले त्यसबाट जोगाउन आफूले शीर्ष नेतासँग छलफल गरेको पौडेलले बताएका छन् ।
‘प्रधानमन्त्रीले त एमसीसीमा सहयोग नगर्ने पार्टीसँग गठबन्धन गर्न सकिँदैन भन्ने कुरा गर्नुभएको छ । त्यही भएर गठबन्धन जोगाउन पनि अरु दलले प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्छ,’ पौडेलले भने, ‘मैले पनि गठबन्धन जोगियोस् भनेर नै सहमति जुटाउने कोसिस गरेको हुँ ।’
प्रधानमन्त्रीले गठबन्धन टुटाउने चेतावनी दिएको जानकारी गराएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रक्रियाबाट अनुमोदनका लागि सकरात्मक देखिएको पौडलले बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विपक्षमा मतदान गर्ने निर्णय सुनाए पनि उनले पनि अनुमोदनमा सघाउने विश्वास रहेको पौडेलले बताए ।
यो गठबन्धनलाई जोगाउनुपर्छ भन्नेमा सबै दलका अध्यक्ष एकमत हुनुहुन्छ । गठबन्धन जोगाउने हो भने त प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्यो नी । अन्तिम समयमा उहाँहरूले सहयोग गर्ने परिस्थति बन्छ,’ पौडेलले भने ।
प्रधानमन्त्री देउवाले कांग्रेसँगको आन्तरिक छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सहयोग गर्नसक्ने बताइरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहमतिमा ल्याउन उपसभापति पूर्णबहादुर खड्कालाई खटाएका छन् । खड्काले मंगलबार प्रचण्डसँग संवाद गरेका थिए । त्यस संवादमा उनले प्रचण्डलाई प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग संवाद गर्ने जानकारी पनि गराएका थिए ।
ओलीसँग देउवाले बालुवाटारमा मंगलबार साँझ छलफल गरे । छलफलमा उनले एमालेलाई संसदको अवरोध हटाउँदै एमसीसी अनुमोदनका निम्ति सहयोग गर्न आग्रह गरेका थिए । ‘यो सम्झौतालाई तपाईंहरूले नै संसदमा दर्ता गराउनुभएको हो । तपाईंहरूले दर्ता गराउनुभएको प्रस्तावलाई मैले संसदमा टेबल गरेपछि सहयोग गर्नुपर्यो नि,’ देउवाले ओलीलाई आग्रह गरेका थिए ।
ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ असार ३० मा संसद सचिवालयमा एमसीसी दर्ता गराएको थियो । एमसीसी राष्ट्रको लागि आवश्यक परियोजना रहेको भन्दै देउवाले अनुमोदनका निम्ति एमालेको साथ खोजेको बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालले बताए । ‘प्रधानमन्त्रीले एमसीसी मुलुकका लागि महत्वपूर्ण छ । तपाईंहरूले यसमा सहयोग गर्नुपर्यो भन्नुभयो,’ रिमालले भने ।
त्यसको जवाफमा एमाले अध्यक्ष ओलीले एमसीसीमा सहयोग खोज्नुअघि संसद अवरुद्ध हुने वातावरण अन्त्य गर्नुपर्ने अडान राखेका छन् । एमाले विभाजनका निम्ति सभामुख अग्निसापकोटाले सहयोग गरेको भन्दै आफ्नो दलले कारबाही गरेका एकीकृत समाजवादीका १४ सांसदलाई गैरसांसद करार गर्दै एमाललेले २३ भदौयताका संसद बैठकमा अवरोध गर्दै आएको छ ।
‘हाम्रो अध्यक्षले बैठकमा तपाईंहरूले संसदको अवरोधका बीच कामकारबाही चलाइरहनुभएको छ । पहिले संसद खोल्नुपर्यो भन्नुभयो । संसद खोल्ने वातावरण बनाएपछि हामी निर्णयमा पुग्नेछौँ भनेर प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो,’ उपमहासचिव रिमालले भने ।
प्रधानमन्त्री देउवासँगको आजको भेट विगतकै भेटको निरन्तरता रहेको रिमालले बताए । गत शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेट्न देउवा बालकोट नै पुगेका थिए । ‘यो भेट विगतकै भेटको निरन्तरता हो,’ रिमालले भने । कांग्रेस र एमालेबीच अर्को छलफलबारे भने कुनै कुरा नभएको रिमालले बताए ।
अमेरिकाले एमसीसीको विषयमा निर्णय लिन १६ फागुनसम्मको समय दिएको छ । एमसीसीको विषयमा संसदमा १२ फागुनमा सैद्धान्तिक छलफलको प्रस्ताव पेस हुनेछ । त्यसपछि यस विषयमा सांसदहरूले आफ्नो धारणा राख्नेछन् । एमसीसी अन्तर्राष्ट्रिय सम्बन्धको विषयसमेत भएकाले यसलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्दा राम्रो सन्देश जाने पक्षमा देउवा रहेको कांग्रेस नेता मिनेन्द्र रिजालले बताए ।
‘अन्तर्राष्ट्रिय सम्बन्धका सवालमा सबै दल एकमत हुँदा राम्रो सन्देश जाने प्रधानमन्त्रीको विश्वास छ, त्यसैले उहाँ सकभर राष्ट्रिय सहमतिबाटै अनुमोदन गराउने गृहकार्यमा हुनुहुन्छ,’ रिजालले भने ।
प्रतिपक्षी दलले आफ्नो अडान कायमै राखेपछि एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गराउने देउवाको कसरत सफलता उन्मुख बनेन । अन्तिम समयसम्म पनि राष्ट्रिय सहमति कायम राख्ने कसरत प्रधानमन्त्रीले जारी राख्ने कांग्रेस नेताहरूले बताएका छन् ।