विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा



काठमाडौं- प्रतिनिधिसभा विघटनविरूद्ध रिट निवेदन लिएर विपक्षी पाँच दलका सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् । शनिबार पाँच दलको बैठकले बाहिर रहेका सबै सांसदहरूलाई राजधानी फर्किन निर्देशन दिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एक सय ४९ सांसदले हस्ताक्षर गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

यसका विरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद सर्वोच्च जाने तयारीमा जुटेका छन्। पाँचै दलका सांसदको हस्ताक्षर बोकेर शीर्ष नेताहरू सर्वोच्च जान लागएको कांग्रेस सांसद रमेश लेखकले बताए।

त्यसका लागि तयारी गरिरहेको लेखेकले बताए। ‘आज सर्वोच्च अदालत जाने तयारी गरिरहेका छौं,’ लेखकले भने।

अहिले कानून व्यवसायीहरू कागजात तयारी पारिरहेको उनले बताए। सबै सांसदहरूलाई नागरिकता लिएर आउन लगाइएको छ।

उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने भएका हुन्।