जसपामा ट्वीस्ट: कार्यकारिणी बैठकमा उपेन्द्रको भारी बहुमट, महन्थलाई झट्का
काठमाडौं- जनता समाजवादी पार्टी जसपाको केन्द्रिय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र यादव दुवैको यसअघि केन्द्रिय समितिमा समान २५- २५ जना सदस्य थिए । तर, दुवै नेताको कित्ता फरक फरक भएपछि यादवको पक्षमा बहुमत जुटेको हो ।
तर,संसदिय दलमा भने ठाकुरको पक्षमा बहुमत छ । यद्यपी प्रतिनिधिसभा भने विघठन भइसकेको छ । यसअघि ३२ सदस्यिय संसदिय दलमा ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद थिए । राष्ट्रियसभामा रहेका तीन जान सांसदहरु मृगेन्द्र सिंह,प्रमिला यादव र शेखर सिंह अध्यक्ष यादवको पक्षमा लागेका छन् ।
जसपाका अध्यक्ष यादव पक्षले शनिवार बोलाएको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा ३१ जनाको उपस्थिती रहेको नेता मोहम्मद इस्तियाक राईले दावी गरे । यसअघि ठाकुर पक्षमा रहेका नेताहरु महेन्द्र यादव, मृगेन्द्रसिंह यादव,रमेश यादव,रामनरेश राय ,गजेन्द्र यादव र नवलकिशोर शाह अध्यक्ष उपेन्द्र पक्षमा लागेका छन् ।
२ नम्बर प्रदेशमा वरिष्ठ नेता महतोको कोटाबाट मन्त्री रहेका नवलकिशोर र महेन्द्र यादवको कोटाबाट मन्त्री रामनरेश राय आजको बैठकमा उपस्थित भएका छन् ।
यता जसपाको ठाकुर पक्ष भने सरकारमा जाने तयारीमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता अध्यादेश मन्त्रिपरिषदबाट पारित गरिसकेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि उनिहरु एक दुई दिनमै सरकारमा जाने तयारीमा छन् ।
जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी छ । नेताहरु शरदसिंह भण्डारी,राजकिशोर यादव,उमाशंकर अरघरिया,अनिल झा, प्रमोद शाहलगायत मन्त्री बन्ने सुचीमा छन्।