प्रचण्डले गरे संसद ब्युँताउने घोषणा - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

प्रचण्डले गरे संसद ब्युँताउने घोषणा



काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनःस्थापना गराएरै छाड्ने घोषणा गरेका छन्।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए।

उनले विघटनविरुद्ध राजनीतिक र कानुनी रुपमा लडाई लड्ने निर्णय विपक्षी गठबन्धनले गरेको जानकारी दिए। प्रचण्डले गत पुसमा गरिएको संसद विघटन जसरी सडक र कानुनी लडाईंबाट पुनःस्थापित भएको थियो अहिले पनि त्यही अवस्था आउने दाबी गरे।

प्रचण्डले देउवालाई समर्थन गरेका १४९ जना सांसद नै संयुक्त रुपमा अदालत जाने निर्णय भएको बताए। विपक्षी दलको गठबन्धनपछि उनले भने, ‘हामी विघटनको सशक्त प्रतिवाद गर्छौँ। पहिलो एपिसोड मै देखिएको छ, जनता यसका विरुद्धमा छन्। जसरी देशलाई दुर्घटनातिर लगिएको छ। फेरि संसद पुनःस्थापना हुनेछ।’

उनले १४९ जना सांसदहरु संयुक्त रुपमा अदालत जाने बताए। दाहाले देउवा र ओली दुवैको दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यरातिमा भएको निर्णय अपारदर्शी निरंकुश भएको उल्लेख गरे।

गठबन्धनले कात्तिक र मंसिरका लागि घोषणा गरिएको चुनाव गर्नका लागि नभइ देखाउनका लागि भएको दाबी गरेको छ। ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रुपमा गरिएको चुनावको अर्थ छैन,’ प्रचण्डले भने।