राणाले भने: राष्ट्रपति र प्रधानमन्त्रीमा मानवता छैन - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

राणाले भने: राष्ट्रपति र प्रधानमन्त्रीमा मानवता छैन



काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमा मानवता नभएको बताएका छन् । उनले कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा भएको बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गरेकोमा अध्यक्ष राणाले शनिबार आफ्नो ट्विटरमार्फत साँठगाँठले संविधानको अवमूल्यन भएको बताएका हुन् ।

प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास भए पनि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलट्ठीपन हुने पनि उनको भनाइ छ । ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो,’ राणाले लेखेका छन् । विश्वका सफल प्रजातान्त्रिक अभ्यासअनुकूल राजासहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प नरहेको उनको धारणा छ ।

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।