ईश्वर पोखरेल भन्छन्: माधव नेपाल समूहसँग अब एकता गर्न सकिन्न - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ईश्वर पोखरेल भन्छन्: माधव नेपाल समूहसँग अब एकता गर्न सकिन्न



काठमाडौं- नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधव नेपाल समूहसँग एकता गर्न नसकिने बताएका छन् ।राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतले नेपाल पक्षसँगको एकताको वातावरण बिग्रिएको टिप्पणी उनले गरेका छन् ।

एमाले उम्मेदवार रामबहादुर थापालाई गठबन्धनका डा खिमलाल देवकोटाले पराजित गरेपछि उनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण टिप्पणी लेख्दै राष्ट्रियसभाको निर्वाचनमा देखिएको हर्कतहरूले एकता धमिलिएको बताएका हुन् ।

उनले पार्टीविरुद्धमा गरिएका अपराधपूर्ण कामले पार्टी विधान, पद्धति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको बताएका छन् ।

‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने, ‘सूर्य’ चिन्हबाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरूको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन्,’ उनले भनेका छन् ।

उनले आजको निर्वाचनले विरोधी गठबन्धनका बाबजुद एमाले एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने स्पष्ट भएको उल्लेख गरेका छन् । उनले विषम् अवस्थामा पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आह्वान पनि गरेका छन् ।