माधव नेपाल समूह एमालेमा बस्न नचाहेको बैठकको निष्कर्ष: वार्ता प्रक्रिया बन्द गर्ने छलफल - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

माधव नेपाल समूह एमालेमा बस्न नचाहेको बैठकको निष्कर्ष: वार्ता प्रक्रिया बन्द गर्ने छलफल



काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल लगायतका नेताहरूको क्रियाकलाप शंकास्पद भएको भन्दै एमालेमा बस्न नखोजेको निष्कर्ष निकालेको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गरेको र पछिल्ला क्रियाकलाप शंकास्पद भएको भन्दै बैठकले यस्तो निष्कर्ष निकालेको हो । कतिपय नेता र जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको समेत बैठकमा छलफल भएको थियो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षसँग एकपटक निर्णायक ढंगले छलफल गर्ने र त्यसपछि पनि पार्टीविरुद्ध उभिने क्रम जारी रहे वार्ता प्रक्रिया बन्द गर्नुपर्ने विषय समेत उठेको बताइएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने ज्ञवालीले बताए । उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिए ।

ज्ञवालीले भने, ‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो । तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने यसलाई सामान्य रूपमा लिन सकिन्न, यसबाट बुझ्न सकिन्छ ।’

बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ ।