आज बागमतीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदै: यस्तो छ तयारी
काठमाडौं- बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। बागमती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दैछन्।
निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राईलगायत नेता बुधबार नै हेटौडा पुगिसकेका छन्।
राष्ट्रियसभाको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने बताइएको छ ।
उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी भने पूरा भएको छ।
निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको बताइएको छ।